तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १३ का नवराज रावतले कृषि पेशा अँगालेको धेरै भइसक्यो । तर बिचौलियाका कारण उनले सोचजति कृषि पेशाबाट फाइदा लिन सकेका छैनन् ।
‘दु:ख गरेर खेती गर्यो वजारमा बेच्न लैजाने वेलामा विचौलियाको जगजगी हुन्छ । त्यही भएर मेहनतको मुल्य पाउन सकिएको छैन’ सोमवार तुलसीपुर उपमहानगरपालिकामा रावतले यही गुनासो पोखेका हुन ।
सोमबार तुलसीपुर उपमहानगरपालिकाले कृषकहरुसंग गरेको अन्तक्रिया कार्यक्रममा सहभागी अधिकाँश किसानले आफुले मेहनत गरेर उत्पादन गरेको वस्तुहरुको मूल्य आफै निर्धारण गर्न पाउनु पर्ने माग गरेका थिए ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ मुलकोट निवासी रुपवहादुर पुनले तरकारीका दलालहरुले सोझा साझा किसानको दुःख पसिनामाथि रजाई गर्दै आएको हुँदा त्यो तत्काल बन्द गर्न स्थानीय सरकारले ध्यान दिनुपर्ने बताए ।
उनले कृषकलाई कृषि परिचय पत्र तत्काल वितरण गर्न माग गरे ।
वडा नम्वर १८ का कृषक नरवहादुर केसीले किसानले आफै बेच्न पाउने गरि हाट बजारको व्यवस्था गर्न आग्रह गरे ।
‘किसानले आफुले उत्पादन गरेको बस्तु आफैले बेच्न नपाउँदा सम्म किसान कहिलै माथि उठ्ने छैनन् , काम गर्ने कालु मकै खाने भालु प्रवृति अन्त्य गर्न हाट बजारको व्यवस्था गरियोस ।’ केसीले भने ।
बिचौलियाको जगजगी अन्त्य गर्नको लागि अनुगमन गर्न स्थानीय सरकारले ध्यान दिन नसकेको उनको गुनासो थियो ।
त्यस्तै दुग्धपालक कृषक केसीले दुध उत्पादनमा कृषकहरुलाई अनुदान दिदा उत्पादनका आधारमा दिनुपर्ने बताए । कृषकहरुको उपज उचित मूल्यमा विक्री गर्ने वातावरण तय गर्नका लागि उपमहानगरपालिकाले भुमिका खेल्न नसकेको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का लोकराज डाँगीले गुनासो गरे । किसानलाई सुकिला मुकिला भनाउँदाहरुले हेप्ने र हेला गर्ने प्रवृतिको अन्त्य हुनुपर्ने उनले माग गरे ।
अर्का कृषक शशी वुढाथोकीले कृषिमा अनुदान मात्रै दिने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताउँदै कृषकलाई आधुनिक प्रविधिसँग जोडेर लैजान स्थानीय सरकारले ध्यान दिनुपर्ने बताए ।
त्यस्तै कृषक देवराज भण्डारीले उत्पादनलाई बजारीकरण गर्नका लागि कोल्ड स्टोरको व्यवस्था गर्न राज्यले ध्यान दिन नसकेको बताए ।
तुलसीपुरकी कार्यवाहक प्रमुख माया शर्माले किसानलाई पहिचान दिनका लागि उपमहानगरपालिकाले कृषि परिचयपत्र लागु गर्न लागेको जानकारी दिएकी थिइन । कृषकलाई व्यवसायी वनाउनका लागि विउ विजन वितरणसँगै आधुनिक प्रविधिको प्रयोगमा प्रोत्साहन गर्ने नीति ल्याउन लागेको आचार्यले बताइन ।
तुलसीपुर उपमहानगरपालिका कृषि शाखा प्रमुख तिलक केसीले कृषकका लागि उपमहानगरपालिकाले विशेष कार्यक्रम ल्याएको भन्दै किसानलाई व्यावसायिक वनाउनका लागि उपमहानगरपालिकाले जुनसुकै काम गर्न पनि तयार रहेको वताए । पशु शाखा कार्यालयका प्रमुख सुदाम भट्टले पशुपालक किसानलाई विभिन्न समयमा तालिमका साथै औषधि उपचारको व्यवस्था गरिएको दाबी गरेका थिए ।