मानसिक सन्तुलन गुमाएका मानिसहरूका लागि दाङमा भवन निर्माण भइरहेको छ। गत वर्षदेखि निर्माण सुरू भएको भवन निर्माणको आगामी माघ महिनासम्म पूरा हुने जानकारी दिइएको छ।
प्रेरणाका लागि अभियान नेपालका अध्यक्ष श्रीधरकुमार लम्सालले माघ महिनाभित्रै भवन निर्माण कार्य पूरा गरिसक्ने लक्ष्यका साथ काम धमाधम भइरहेको जानकारी दिए।
घोराही उपमहानगरपालिका वडा नं. ३ कुइरेपानीको मोहननगरमा करिब १६ कठ्ठा क्षेत्रफलमा ६ कोठे भवन निर्माण कार्य भइरहेको हो। करिब ६० प्रतिशत निर्माण कार्य पूरा भएको अध्यक्ष लम्सालले बताए। संस्थाले २०७१ सालमा जेठमा जग्गा खरिद गरेको थियो।
मानसिक सन्तुलन गुमाएका पुरुष, महिला र बालबालिकालाई राखेर उपचार गर्नका लागि छुट्टाछुट्टै तीन ब्लकहरू निर्माण भइरहेको अध्यक्ष लम्सालले बताए।
मानसिक सन्तुलन ठिक नभएका सडक व्यक्तिलाई उक्त भवनमा राख्ने र त्यहाँ उनीहरूको लागि गाँस, बास र औषधी उपचारको प्रबन्ध गरिने अध्यक्ष लम्सालले जानकारी दिए। हालसम्म जमिन खरिद गर्नेदेखि दुई वटा ब्लकको पहिलो तला ढलान गर्दासम्म ५० लाख रुपैयाँ खर्च भइसकेको जानकारी दिइएको छ।
मानसिक सन्तुलन ठिक नभएका झन्डै ३० जना बिरामीहरू राख्न सक्ने क्षमताको भवन निर्माण भइरहेको अध्यक्ष लम्सालले बताए। यो भवन निर्माणमा विभिन्न संघ–संस्था र सरकारी कार्यालयले सहयोग गरेका छन्। सबैभन्दा धेरै हेल्प फाउण्डेसन यूएस नामक संस्थाले सबैभन्दा धेरे २५ लाख नगद सहयोग गरेको छ।
त्यस्तै, घोराही उप–महानगरपालिकाले पाँच लाख, घोराही उपमहानगरपालिका वडा नं. ४ बाट एक लाख र सस्थाको जग्गा संरक्षणको लागि तारजाली गर्न तत्कालीन जिल्ला विकास समितिबाट ए लाख ३२ हजार रुपैयाँ सहयोग प्राप्त भएको प्रेरणाका लागि अभियान नेपाल नामक संस्थाले नै गर्ने अध्यक्ष लम्सालले बताए।
यसैबीच, सिद्धिविनायक सत्संग सेवा समिति दाङको आयोजनामा असोज १ देखि सुरु भएको ‘श्रीराम कथा धनधान्याञ्चल नवाह ज्ञान महायज्ञ–२०७५’ मंगलबार सकिएको छ।
महायज्ञमा ३१ लख बढी नगद दान संकलन भएको छ। मंगलबार अन्तिम दिनसम्म ३१ लाख २१ हजार ३ सय ८५ रुपैयाँ नगद दान संकलन भएको महायज्ञका निर्देशनक डा. भोलानाथ योगीले जानकारी दिएका छन्।
महायज्ञमा घोराही उप–महानगरपालिका वडा नं. १५ रतनपुरका वसन्तराज थापा (प्रकाश)ले सर्वाधिक ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दान गरेका छन्। स्व.आमा चन्द्रावति थापाको स्मृतिमा सो रकम दान गरेको महायज्ञका आर्थिक समिति संयोजक केशव गिरीले बताए।