सल्यानमा एक जना दाइले आफ्नै भाइको हत्या गरेका छन्।
जिल्लाको शारदा नगरपालिका वडा नं. १ श्रीनगर निवासी २१ वर्षीय केशरसिंह बुढाथोकीले १४ वर्षीय भाइ प्रकाश बुढाथोकीको हत्या गरेको जिल्ला प्रहरी प्रमुख एवं डिएसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए।
भाइले दाइसँग ५ सय रुपैयाँ मागेको र त्यही क्रममा दाइले हानेपछि उनी बेहोस भएको र मरेको ठानी उसैको टाइले घाँटीमा कसेर हत्या गरेको केशरले प्रहरी समक्ष स्वीकार गरेको डिएसपी शाहीले बताए।
‘सुरूमा भाइले मलाई छातीमा हान्यो त्यसपछि मैले दुई पटक उसको घाँटीमा हातले हानेपछि ऊ विस्तरामा लड्यो अनि भाइ मर्यो र अब म फस्छु भन्ने ठानी उसैको टाइले घाँटी कसेर मारेको हुँ,’ केशरले बयान उद्धृत गर्दै डिएसपी शाहीले सेतोपाटीलाई भने।
भाइको हत्यापछि झुण्ड्याएर आत्महत्या गरे जस्तो देखाउन दाइले प्रयास गरेको भए पनि प्रहरी अनुसन्धानबाटै दाइले नै भाइको हत्या गरेको खुल्न आएको डिएसपी शाहीले बताए।
‘भाइको हत्यापछि आफैंले झुण्ड्याएर भाइले आत्महत्या गर्यो भन्दै प्रहरी समक्ष दाजुले नै खबर गरेका थिए, तर घटनास्थलमा म आफैं गएर हेर्दा कर्तव्य गरी मारेको जस्तो देखियो र अनुसन्धानपछि त्यही प्रमाणित भयो,’ डिएसपी शाहीले भने।
गत भदौ १८ गते घटना भए पनि २२ दिनपछि मात्रै दाजुले भाइको हत्या गरेको तथ्य प्रहरीले सार्वजनिक गरेको छ। हत्या अभियोग स्वीकार गरेका दाजु केशरसिंह बुढाथोकीलाई कानूनी कारबाहीको लागि अदालत पेश गर्ने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।