नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बन्दका कारण बुधबार रोल्पाको जनजीवन प्रभावित भएको छ।
जिल्ला सेक्रेटरी सन्तोष सुवेदी ‘प्रयास’लाई विनासर्त रिहा गर्न माग गर्दै नेकपाले एक दिने बन्द आह्वान गरेको हो। जसले गर्दा रोल्पामा यातायात, शिक्षण संस्था, कलकारखाना सञ्चालनमा आउन नसकेको रोल्पा प्रहरी प्रमुख एवं डिएसपी दिपक खड्काले सेतोपाटीलाई जानकारी दिए।
प्रहरीले असोज १ गते जिल्ला सेक्रेटरी सन्तोषलाई पक्राउ गरेको थियो। केन्द्रको आदेशमा उनलाई पक्राउ गरिएको र अब छिट्टै उनी रिहा हुने स्थानीय प्रशासनले जानकारी दिएको छ ।
शान्ति सुरक्षामा असर पुग्ने गतिविधि गरेको अभियोगमा प्रहरीले जिल्ला सेक्रेटरी सन्तोषलाई रोल्पाको एउटा विद्यालयमा राजनीतिक सभाबाट पक्राउ गरेको थियो।