पार्वती विश्वकर्मा घोराहीस्थित नागेश्वर महादेव मन्दिरको प्रमुख पूजारी छिन्। घोराही उप–महानगरपालिका वडा नं. १८ मसिनास्थित यो मन्दिरमा ३८ वर्षीया विकले मुख्य पूजारीको रुपमा पूजा आरधना चलाउन थालेको तीन वर्ष पुगिसकेको छ।
विक प्रमुख पूजारी भएको नागेश्वर मन्दिरमा सबै जातजातिका मानिसहरू पूजा आराधना गर्न आउँछन्। यहाँ आउने सबै भक्तजनले उनलाई ‘माता’ भन्दै सम्मान भाव व्यक्त गर्छन्।
सुरू–सुरूमा विकले मन्दिरमा पूजा आरधना चलाउँदा ‘दलित पूजारी भएको मन्दिर’मा नजाने भन्दै केही बाहुन, क्षेत्रीले बिरोध गरेका थिए। तर, विस्तारै समाज पनि रुपान्तरित हुँदै गयो। पार्वती विकलाई हेर्ने दृष्टिकोण फेरियो।
विकलाई आज समाजले ‘माता’को सम्मान दिएको छ। भन्छिन्, ‘जातपात र छूवाछूत भन्ने छैन। यो त मनुस्यले बनाएको हो।’ उच–निचको संकीर्ण धारणा स्वार्थी समाजले निर्माण गरेको तर्क उनी गर्छिन्। ‘मान्छेलाई उसको कर्म र व्यवहारको आधारमा सम्मान गर्नुपर्छ न कि जातभातको आधारमा,’ विकले भनिन्।
दलित भएकै कारण मन्दिर प्रवेश गर्न रोक लगाइएका घटनाहरू सुनिन्छन्। दलितले छुँदा मन्दिर अपवित्र हुन्छ भन्ने भ्रम पनि छ। ‘यर्थाथमा त्यो कथित अपल्लो जातजातिका मानिसहरूले सिर्जना गरेको अफवाह हो,’ उनले भनिन्।
कानुनले जातीय आधारमा गरिने छूवाछूतलाई बर्जित गरेको दसकौं बितिसक्दा समेत धर्मभीरुहरूका कारण व्यवहारमा उतार्न मुस्किल बनिरहेको छ। ‘गाउँघरमा अझै पनि कथित उपल्लो जात र तल्लो जातको कुरा पूर्ण रुपमा अन्त्य भएको छैन। जातीय आधारमा गरिने छूवाछूत पनि पूर्ण रुपमा अन्त्य भइसकेको छैन, तर अब समयले विस्तार अन्त्य गर्ने छ,’ विकले भनिन्।
पार्वती रोल्पाली हुन्। कमजोर आर्थिक अवस्थाका कारण उनका अभिभावक रोजगारीको लागि काला पहाड (भारत) गएको बखत उनको भारतमै जन्म भएको रहेछ।
उतै हुर्किइन्। उनका बाबुले विद्यालयमा भर्ना गरिदिए पनि उनी पढन् नगएको बताउँछिन्। तर, उनी आज मजाले पूजापाठ गर्छिन् र संस्कृतका श्लोकहरू भन्न सक्छिन्। यो स्वअध्ययनबाट सम्भव भएको उनले बताइन्।
पार्वतीले छोरीहरूको सहयोगमा नाम लेख्न सिकेको जानकारी दिइन्। पछिल्लो समय पार्वतीले घोराही १८ मसिनामा ४ कठ्ठा जमिन किनेको बताइन्। तर, घर बनाइसकेकी छैनन्। भाडामा बस्छिन्।
पूजारी बन्नुभन्दा पहिले पार्वती नजिकैको खोलामा दिनभर गिट्टी कुट्ने गर्थिन्। उनका पति बजारमा मजदुरी गर्थे। पार्वती २०७२ सालमा बिरामी भइन्। काँप्ने र बेहोस् हुने समस्या उनमा देखियो। उपचार गर्दा सञ्चो भएन।
‘म माथि नागको माध्यमबाट स्वर्गद्वारी शक्ति चढेको भनी पूजा गर्न थालियो, निको पनि भएँ,’ उनले भनिन्, ‘त्यसपछि यहाँ मन्दिर स्थापना गरियो, म पूजारीको रुपमा रहेँ।’