पूर्वपश्चिम राजमार्ग अन्तरगत शनिबार बिहान बाँकेमा भएको सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने १८ यात्रु घाइते भएका छन्।
दुर्घटनामा परी ५ जना महिला र १ जना पुरुषको मृत्यु भएको ५ नं. प्रदेशको प्रहरी कार्यालय तुलसीपुर दाङले जानकारी दिएको छ।
प्रदेश प्रहरी प्रमुख एवं डिआइजी शेरबहादुर बस्नेतले घटनास्थलमा मृत्यु भएकामध्ये ३ जना महिला र १ जना पुरुष हायसका चालक तुलसीपुर उपहानगरपालिका वडा नं. ७ निवासी अन्दाजी ३२ वर्षीय सुगन चौधरी रहेको जानकारी दिए।
घटनास्थलमा मृत्यु भएकाहरूमध्ये चालकबाहेक अरु तीन जना महिला कसैको पनि पहिचान खुल्न नसकेको डिआइजी बस्नेतले सेतोपाटीलाई बताए।
त्यस्तै, दाङको तुलसीपुर उपमहानगरपालिका निवासी अन्दाजी ३० वर्षीया तुलसी रावत र तुलसीपुरकै अन्दाजी २७ वर्षीया वसन्ती चौधरीको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको डिआइजी बस्नेतले जानकारी दिएका छन्। घाइतेमध्ये अधिकांश तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ र ६ का स्थानीय रहेको बाँके प्रहरीले जानकारी दिएको छ।
दाङको तुलसीपुरबाट बाँकेतर्फ जाँदै गरेको रा १ ख १६६२ नम्बरको यात्रुबाहक हायस र बाँकेबाट पूर्व तर्फ आउँदै गरेको ले १ ख ७७२९ नम्बरको ट्रक शनिबार बिहान पौने ९ बजेतिर आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको थियो।
राप्ती सोनारी गाउँपालिका वडा नं. ९ स्थित मुगुवा खोलाको मोडमा तीव्र गतिको ट्रकले हायसलाई ठक्कर दिएको घाइते यात्रुले बताएका छन्। हायस र ट्रकले बसलाई उछिन्ने प्रयास गर्दा मोडमा उक्त दुर्घटना भएको बताइएको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिइएको छ।