शनिबार बाँकेमा भएको सवारी दुर्घटनामा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
राप्ती सोनारी गाउँपालिका वडा नं. ९ स्थित मुगुवा खोला नजिकै ट्रकले हायसलाई ठक्कर दिँदा एकै परिवारका आमा–छोरा र दिदीको मृत्यु भएको हो।
उक्त दुर्घटनामा परी शान्तिनगर गाउँपालिका वडा नं. ७ कुमलगडी निवासी ५१ वर्षीया आमा मुना रावत, उनका २७ वर्षीय छोरा तुलसीराम रावत र ३२ वर्षीया दिदी दोर्णा बुढाथोकीको मृत्यु भएको कुमलगडी निवासी खुमानन्द पौडेलले सेतोपाटीलाई जानकारी दिए।
बुढाथोकी तुलसीराम रावतको काकाको छोरी हुन्। बुढाथोकीको बिहे सल्यान जिल्लाको शारदा नगरपालिका वडा नं. ५ मा भएको थियो भने पछिल्लो समय उनीहरू पनि तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ दोघरेमा घर निर्माण गरी बस्दै आएका थिए।
दुर्घटनामा परी दोर्णा बुढाथोकीका श्रीमान् ३३ बर्षीय प्रेमबहादुर बुढाथोकी र उनकी आमा पनि घाइते भएकी छन्। तुलसीराम रावत आफ्नी आमा र सासु आमा ४६ वर्षीया धनी डाँगीको उपचारको लागि जाँदै थिए भने उनका दिदी भिनाजु दोर्णा र प्रेमबहादुर बुढाथोकी (माइटी इष्ट) सल्लाह गरी ६ जना उपचारको लागि बाँकेको कोहलपुर जाँदै गर्दा दुर्घटनामा परेका थिए ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत शनिबार बिहान झन्डै पौने ९ बजेतिर तीव्र गतिको ट्रक र यात्रुबाहक हायस आपसमा ठोक्किँदा ६ जनाको मृत्यु भएको छ भने थप १८ जना घाइते भएको ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जानकारी दिएको छ।
प्रदेश प्रहरी प्रमुख एवं डिआइजी शेरबहादुर बस्नेतका अनुसार उक्त दुर्घटनामा परी हायसका चालक दाङको तुलसीपुर उपहानगरपालिका वडा नं. ७ निवासी ३३ वर्षीय सुगने चौधरी, तुलसीपुर वडा नं. ५ निवासी ५० वर्षीया नारायणी श्रीस मगर र तुलसीपुर ८ दोघरे निवासी २७ वर्षीया वसन्ती चौधरीको मृत्यु भएको छ ।
यसअघि प्रहरीले ५ जना महिला र १ जना पुरुषको मृत्यु भएको जानकारी दिएपनि पछिल्लो पटक २ जना पुरुष र ४ जना महिलाको मृत्यु भएको जानकारी दिएको छ।
प्रदेश प्रहरी प्रमु्ख डिआइजी बस्नेतले दुर्घटनाका १८ घाइतेमध्ये अधिकांश दाङको तुलसीपुर निवासी रहेका जानकारी दिए। दुर्घटनाका घाइतेमध्ये आधा दर्जन जतिको अवस्था अझै गम्भीर रहे पनि उनीहरू खतरामुक्त रहेको भन्ने जानकारी आफूलाई बाँके प्रहरीले दिएको डिआइजी बस्नेतले सेतोपाटीलाई बताए ।
दाङको तुलसीपुरबाट बाँकेतर्फ जाँदै गरेको रा १ ख १६६२ नम्वरको यात्रुबाहक हायस र बाँकेबाट पूर्व तर्फ आउँदै गरेको ले १ ख ७७२९ नम्वरको ट्रक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको थियो।
बसलाई उछिन्ने क्रममा उक्त दुर्घटना भएको दुर्घटनाका घाइतेहरूले बताएका छन्। घाइते र मृतक सबै हायसमा सवार यात्रु हुन्। यसैबीच ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिइएको छ।