६३औं प्रहरी दिवसको अवसरमा ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले आइतबार दौड प्रतियोगिता गरेको छ।
महिलाको लागि ३ हजार र पुरुषका लागि ५ हजार मिटर दौड भएको हो। जसमा नेपाल पुलिस स्कुल घोराहीकी शर्मिला घर्ती प्रथम, स्यालुट गोरखा ट्रेनिङ सेन्टर प्रालिकी विपना केसी द्वितीय र स्यालुट गोरखाकै बेलमती जिएम तृतिय भएका छन्। त्यस्तै, पुरुषतर्फ ओटस ट्रेनिङ सेन्टरका अम्बर खत्री प्रथम, स्यालुट गोरखाका रोशन राना द्वितीय र लोटसका कुशल रायमाझी तृतीय भएका हुन्।
तुलसीपुरको अरनिको मैदानमा सोना सिमेन्टका प्रतिनिधि रेमन्त ढकाल र ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रमुख एवं डिआइजी शेरबहादुर बस्नेतले प्रतियोगिताको उद्घाटन गरेका थिए। उक्त प्रतियोगितामा दाङ जिल्ला प्रहरी प्रमुख एवं एसपी कृष्णहरी शर्मा र प्रदेश प्रहरीका प्रहरी निरीक्षक गणेश नराल लगायतले सहभागिता जनाएका थिए।
६३ औं प्रहरी दिवसको अवसरमा तुलसीपुरमा प्रदेश स्तरीय टेबल टेनिस र व्याटमिन्टन प्रतियोगिता पनि चलिरहेको छ। दिवसको अवसरमा शनिबार रक्तदान कार्यक्रम आयोजना गरिएको थियो।
यस्तै, कविता प्रतियोगिता आयोजना गर्नका लागि विभिन्न व्यक्तिबाट प्राप्त रचनाहरू छनोट गर्ने कार्य जारी रहेको जानकारी दिइएको छ। विभिन्न प्रतियोगिताका विजेताहरूलाई असोज २५ गते एक कार्यक्रमका बीच पुरस्कार वितरण गर्ने जानकारी दिइएको छ ।