राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन अबको दुई वर्षभित्रमा निर्माण पूरा हुने सरोकारवालाहरूले बताएका छन्।
आइतबार घोराहीमा आयोजित सर्वदलीय सर्वपक्षीय भेलामा प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीले दुई वर्षभित्रै प्रतिष्ठानको लागि आवश्यक अत्याधुनिक भवन तयार गर्ने लक्ष्य राखिएको जानकारी दिइन्।
१ सय १४ रोपनी क्षेत्रफलमा अत्याधुनिक र सबै प्रकारको सेवा सुविधा दिने गरी भवनको नक्सांकन गरिएको उपकुलपति भण्डारीले बताइन्। जसमा एयर एम्बुलेन्सको लागि समेत परिकल्पना गरिएको छ।
उपकुलपति डा. भण्डारीले उक्त भवन निर्माण गर्नका लागि झन्डै सात अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको बताइन्। पश्चिम नेपालकै नमूना अस्पताल बनाउने सोचका साथ काम अगाडि बढाउने भण्डारीले योजना सुनाइन्।
‘आगामी वर्षदेखि नर्सिङ पढाइ सुरू गर्छौं। हाल धमाधम रिक्त पद परिपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ,’ उपकुलपति भण्डारीले भनिन्।
त्यस्तै, उनले केही अतिआवश्यक विषयगत विशषेज्ञ डाक्टरहरू नियुक्तिको काम प्रतिष्ठानले सुरू गरेको उनले बताइन्।
‘जब भौतिक पूर्वाधार निर्माणको काम पूरा हुने र आवश्यक सबै डाक्टरहरू नियुक्त हुनेछन् त्यसपछि दंगाली जनताले सधैँ उपचारको लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य हुनेछ,’ भण्डारीले भनिन्।
एक साता पहिले राप्ती उपक्षेत्रीय अस्पताल प्रतिष्ठानलाई हस्तान्तरण गरिएको भन्दै सबै दाङवासीले प्रतिष्ठानको विकासमा सघाउन उनले आग्रह गरिन्। विकास निर्माणमा राजनीति कसैले गर्न नहुने दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बताए।
नेपाली कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले जिल्लाका सरकारी अस्पतालहरूले जनताको चाहना बमोजिम सेवा दिन नसक्दा अस्पताल हुन् कि ‘रेफर’ केन्द्र हुन भनी छुट्याउन मुश्किल परिरहेको बताए।
‘सधैँ बिहान एम्बुलेन्सले साइरन दिँदै बाँके वा बुटवलतर्फ हुइँकिदै गरेका एम्बुलेन्सहरू कहिले रोकिने हुन्?,’ उनले प्रश्न गरेका थिए। त्यो रोक्नको लागि भए पनि प्रतिष्ठानको तीव्र गतिमा विकास आवश्यक रहेको उनले बताए।