दाङमा एक महिलाको शरीर छेडेर निस्किएका तीन वटा फलामे रड सोमबार चिकित्सकले सल्यक्रिया गरि निकालेका छन्।
दाङको घोराही उपमहानगरपालिका वडा नं. ३ झिङ्नी निवासी ३८ वर्षीया तीला परियारको शरीरमा आइतबार दिउँसो तीन वटा फलामे रड वारपार गर्दै अड्किएका थिए।
घोराही उपमहानगरपालिका १५ शहिद उमेशमार्ग रोडमा पैदल हिँडिरहेकी परियारलाई मोटरसाईकलले ठक्कर दिएपछि अनियन्त्रित हुँदै उछिट्टिएर रड अनलोड गर्दै गरेको ट्याक्टरमा ठोकिँदा उनको छातिबाट वारपार तीन वटा रड अड्किएका थिए। यो अपत्यारिलो घटना आइतवार दिउँसो ३ बजे तिर भएको थियो ।
त्यो प्रत्यक्ष देख्नेहरु कसैले उनको जीवन बाँच्न सक्छ भनेर पत्याएका थिएनन्। घटनास्थलबाट परियारको छातिमा वारपार रड काटेर अस्पताल लगिएको थियो। घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालले परियारलाई तत्कालै भैरहवा रेफर गरेको थियो।
त्यहाँ पनि उपचार सम्भव नभएपछि परियारलाई वारपार छेडेका रडसहित गाडीमै राखेर काठमाडौं लगिएको थियो। त्रिवि शिक्षण अस्पतालमा परियारको सफल सल्यक्रिया गरि तीन वटै रड निकालिएको हो।
त्रिवी चिकित्साशास्त्र अध्यन सस्थानका निर्देशक डा.उत्तमकृष्ण श्रेष्ठ नेतृत्वको टोलीले परियारको सफल शल्यक्रिया गरेको हो।
आइतबार दिउँसो ३ बजेतिर अकल्पनीय दुर्घटनामा परेकी तीला परियारको सोमबार झन्डै २४ घन्टा पछि साढे ३ बजे शल्यक्रिया शुरू गरिएको थियो। तिलाको उपचारको लागि शिक्षण अस्पतालसम्म दाङबाटसँगै गएका पत्रकार तथा आफन्त जनक नेपालीले सोमबार दिउँसो साढे तीन बजेदेखि शिक्षण अस्पतालमा शुरु भएको शल्यक्रिया झण्डै एक घण्टापछि डा.उत्तमकृष्ण श्रेष्ठ नेतृत्वको टोलीले सफल रुपमा सम्पन्न गरेको सेतोपाटीलाई जानकारी दिए ।
‘सल्यक्रियाबाट तीन वटै रड निकालिएको छ। रडले मुटुलगायतका कुनै पनि संवेदनशील अंगलाई नछेडेको हुँदा अब घाइतेको अवस्थामा सुधार आउने चिकित्सकहरुले जानकारी दिनुभएको छ,’ खुसी साट्दै पत्रकार नेपालीले भने ।
शरीरमा वारपार रहेका तीनवटै रडसहित परियारलाई दाङबाट भैरहवा र त्यहाँबाट काठमाडौं लगिएको थियो। काठमाडौंमा अन्य विभिन्न अस्पतालमा आफन्तले परियारलाई पुर्याएको भए पनि अवस्था देख्ने वित्तिकै कुनै पनि अस्पतालले परियारको शल्यक्रिया गर्न नमानेकाले अन्त्यमा जे पर्छ त्यही टर्छ भन्दै आफूहरूले जीवन मरनको दोसाँधमा रहेकी घाइते तिलालाई शिक्षण अस्पताल पुर्याएको पत्रकार नेपालीले फोनमा जानकारी दिए।
यसरी भएको थियो दुर्घटना
तीला झिंगैबाट आफ्ना पतिका लागि खाना बोकेर आएकी थिइन्। उनको घोराहीमा टेलरको पसल छ। मोवाईल बिग्रिएको हुँदा तीला मोवाइल पसलमा मर्मत गर्न जाँदै थिइन्।
त्यही समयमा रा ३ प ५२५८ नम्बरको मोटरसाईकल र लु ४३ प २४२९ नम्बरको मोटरसाईकल आसपमा ठोक्किए। त्यसपछि अनियन्त्रित भएको लु ४३ प २४२९ नम्बरको मोटरसाईकलले पैदल यात्रु परियारलाई ठक्कर दियो। अनि तीला परियार रा १ त २३२० नम्बरको ट्रेक्याक्टरमा ठोकिन पुगिन्। जसले फलामे छड अनलोड गर्दै थियो। ‘अनलोड गर्नका लागि तयारी हालतमा रोकिराखेको ट्याक्टरमा परियार ठोक्किँदा तीन वटा रडले शरीर छेड्दै वारपार भए,’ दाङका प्रहरी प्रमुख एसपी कृष्णहरी शर्माले भने।
अकल्पनिय र पत्याउनै नसक्ने फिल्मी सैलीको दुर्घटना मान्नुपर्ने एसपी शर्माले सेतोपाटीलाई बताए। ‘कुरा सुन्दा फिल्मी कथा जस्तो लाग्छ, तर यो आइतबार घोराहीको एउटा सत्य घटना हो,’ एसपी शर्माले भने ।
यसैबीच उनले ट्रेक्टर, दुबै मोटरसाईकल र ती साधनका चालक सबैलाई पक्राउ गरिएको जानकारी दिए। उक्त दुर्घटनामा परि लु ४३ प २४२९ नम्बरको मोटरसाइकल चालक घोराही उपमहानगरपालिका १४ बालमन्दिर चोकमा मोबाइल पसल गर्दै आएका २३ वर्षीय हेमराज वली पनि घाइते भएका छन्।