सल्यान जिल्लाको कपुरकोट बजार क्षेत्रमा व्यापक मात्रामा घरेलु मदिरा उत्पादन हुने गरेको तथ्य फेला परेको छ।
कपुरकोट गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेनले पौष्टिक खाद्यान्न कुहाएर जाँड र घरेलु मदिरा बनाउनेलाई निरुत्साहित गर्न अभियान चलाइने बताए।
‘पौष्टिक तत्वयुक्त स्थानीयस्तरमा उत्पादित धेरै अन्न मदिरा बनाउनकै लागि कुहाउने अनि बालबालिका र महिला भने कुपोषणको सिकार हुनुपर्ने बाध्यताको अन्त्य गरिनुपर्छ,’अध्यक्ष सेनले भने ।
उनले चाडपर्वमा मदिरा खानैपर्छ भन्ने मान्यता गलत भएको हुँदा त्यसमा सुधार आवश्यक रहेको बताए।
‘कसैले मनोरञ्जनका लागि मदिरा सेवन गर्न पाउँछ, तर मदिरा खाएको व्यक्तिले छाडा रूपमा बोल्न पाउनुपर्छ, हल्ला खल्ला गर्न पाउनुपर्छ भन्ने मान्यता गलत हो,’ अध्यक्ष सेनले भने ।
त्यस्तै उपभोक्ता हित संरक्षण समितिका संयोजक तथा कपुरकोट गाउँपालिका उपाध्यक्ष तिला बूढा मगरले मदिराकै कारण महिला हिंसा र घरे लु हिंसा बढेको, समाजको शान्ति खलबल हुने गरेको तथा बालबालिका समस्यामा पर्ने गरेको हुँदा चाडपर्वको बाहनामा हुँदै आएको मदिरा सेवनलाई निरुत्साहित गर्नुपर्ने सेतोपाटीलाई बताइन्।
‘घर–घरमा हुने झगडाको प्रमुख जड यही मदिरा नै हो । पर्व मनाउने बाहनामा मनपरी गर्ने छुट कसैले पाउनु हुन्न,’ बूढाले भनिन्।
उनले गाउँपालिकाभरिका सबै वडाहरूमा अनुगमन र अवैध मदिरा नियन्त्रण अभियान सञ्चालन गरिने बताइन।
‘दसैँको मुखमा साँचेर राखेको जाँड फालिदिने भनेर कतिपय मेरै आफन्त रिसाए, तर सहीलाई सही र गलतलाई गलत भन्न सक्नुपर्छ,’ उपाध्यक्ष बूढाले भनिन्, ‘सधैँ अब हामी जाँड रक्सी खाएर घर परिवार र समाजको शान्ति खलबल्याउनेमाथि निगरानी बढाउने छौं।’
घरेलु मदिरा सेवनकै कारण आपराधिक गतिविधि बढ्ने र शान्ति सुरक्षा एवं अमनचै नमा खलल पुर्याउने भएकाले अवैधरूपमा उत्पादन गरिएको मदिरा नष्ट अभियान जारी राख्न आवश्यक रहेको प्रहरी चौकी कपुरकोटका इञ्चार्ज सुरेन्द्र बुढाथोकीले बताए ।
यसैबीच सोमबार अनुगमनको क्रममा कपुरवाट ६५ ड्रम जाँड र २० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरिएको जानकारी दिए।
बजार अनुगमन निर्देशिका अनुसार गठन भएको समिति, प्रहरी र पत्रकारको टोलीले बजार अनुगमन गर्दा फेला पारेको अवैध घरेलु मदिरा र मदिरा बनाउन तयार पारिएको कच्चा पदार्थ नष्ट गरिएको बुढाथोकीले बताए।
दसैँ तिहार नजिकिँदै गर्दा बजारमा हुन सक्ने कालोबजारी तथा म्याद गुज्रेका सामग्री विक्री वितरणमा रोक लगाउने उद्देश्यसहित बजार क्षेत्रका पसल, होटल, मेडिकल, एग्रोभेट आदिको अनुगमन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवाष रिजालले बताए।
म्याद गुज्रेका बिस्कुट, चाउचाउ, कुरमुरे, सेन्ट आदि नष्ट गरिएको थियो ।
पसलमा मूल्यसूची र साइनबोर्ड अनिवार्य राख्न आग्रह गरिएको थियो। तर अनुगमनपछि कतिपय व्यापारीहरूले भने चाडपर्वमा मात्रै हुने अनुगमन आफूहरूलाई तर्साउनका लागि मात्रै हुने गरेको बताए।