दाङमा दुर्घटनामा परी घाइते दम्पत्तिको उपचारनिम्ति हेलिकप्टर चार्टर गरी काठमाडौं लगिएको छ।
दंगिशरण गाउँपालिका वडा नं. ७ श्रीगाउँमा बिहिबार बसले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका दम्पत्तिको उपचार गर्न चार लाख रुपैयाँमा हेलिकप्टर चार्टर गरेर काठमाडौं लगिएको हो।
तुलसीपुर उपमहानगरपालिका वडा नं. २ का ३९ वर्षीय प्रकाश केसी र उनकी श्रीमती ३६ वर्षीया सुनिता केसी सवार मोटरसाइकललाई बसले ठक्कर दिँदा उनीहरू दुवै जना गम्भीर घाइते भएपछि परिवारले नेपाली सेनाको हेलिकप्टर चार्टर गरेको हो।
घाइते दुवै जनाको खुट्टामाथि बस चढेको हुँदा दुवैको खुट्टा किचिएर काम नलाग्ने अवस्थामा रहेको परिवारका सदस्यले बताएका छन्।
परिवारको आग्रहमा तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजालले १९ नं. बाहिनी तुलसीपुरका बाहिनीपतिलाई भनेर हेलिकप्टरको व्यवस्थापन गरिदिएका थिए।
हापुरेबाट तुलसीपुरतर्फ आउँदै गरेको ग १ ख ७७०३ नम्बरको बसले तुलसीपुरबाट हापुरेतर्फ जाँदै गरेको रा २ प २८६९ नम्बरको मोटरसाइकललाई श्रीगाउँमा बिहान ९ बजेतिर ठक्कर दिएको थियो।
दाङको गतिलो अस्पताल नहुँदा यस्ता घटना वा दुर्घटनाका घाइतेहरूलाई बाँके, बुटवल , चितवन र काठमाडौं उपचारका लागि लैजानुपर्ने बाध्यता छ। सक्नेले हेलिकप्टरमा बिरामीको उपचार गराउन लैजाने गरेका छन् भने नसक्नेले एम्बुलेन्समा उपचारका लागि लैजान्छन् ।