रोल्पाको जैते गाउँका हेमराज केसी सात वर्षका भइसके। तर, उनले अहिलेसम्म विद्यालयको अनुहार देखेका छैनन्।
रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं. ६ जैते निवासी केसी विद्यालय टाढा भएकाले विद्यालय जान नपाएका हुन्। यहाँ पढ्न चाहनेले सरस्वती मावि काउला पुग्नैपर्छ। जैतेबाट काउला पुग्न एक घन्टाको उकालो ओह्रालो जंगलको बाटो पार गर्नुपर्ने हुन्छ।
जैतेबाट काउलास्थित विद्यालय पुग्न जाँदा एक घन्टा लाग्छ भने विद्यालयबाट घर आउन उकालो बाटो पर्ने हुनाले थप डेढ घन्टा जति लाग्छ। यस्तो अवस्थामा सात वर्षे बालक कठिन यात्रा गर्दै त्यति टाढासम्म पढ्न जान सम्भव छैन।
जैते गाउँकै १५ वर्षीय नोखिराम घर्तीले कक्षा ९ मा पढ्दा पढ्दै बिचमै छोडे। विद्यालय जाँदा– आउँदा खेप्नुपर्ने सकसकै कारण उनले पढाई छोडे। ‘पढ्ने रहर त छ नि तर, स्कूल निकै टाढा छ। त्यतिधेरै कष्ट गरेर विद्यालय जान मनै लाग्दैन,’–घर्तीले भने, ‘त्यति दुःख कष्ट खेपेर बेकारमा को पढ्न जान्छ?’
त्यस्तै घर्तीले विद्यालय छोड्नुको अर्कौ कारण आफ्नो पारिवारको गरिबीलाई पनि चित्रण गरे।
‘कापी कलम किन्न र मासिक शुल्क तिर्ने पैंशा पनि नभएकाले पढाई छोडेर घरमै बस्दै आएको छु,’ घर्तीले सेतोपाटीलाई भने ।
बाटो, विजुलीबत्ती, अस्पताल तथा सुरक्षाको नाम निसाना नदेखिएको जैतेमा हालसम्म राज्यको उपस्थिति शून्य छ।
मान्छेको मृत्यु हुँदा समेत घाटसम्म लैजाने बाटो छैन। खानेपानी ओसार्न र विद्यालय जान कलिला बालबालिका घन्टौं संघर्ष गर्नुपर्छ। कक्षा १२ मा अध्ययनरत स्थानीय २० वर्षीया कमला केसीका अनुसार जैतेसहित आसपाका प्रायः सबै गाउँमा विरामी पर्दा स्थानीयलाई एउटा सिटामोल किन्न लिङदुङ झर्नुको विकल्प छैन।
जैतेबाट लिङदुङ पुग्न तीन/चार घन्टा जंगलैजंगल पैदल हिड्नुको विकल्प नरहेको कमलाले बताइन्। ‘विकासको कुनै पूर्वाधार नै नपुगेको ठाउँमा बालबालिका कसरी घन्टौ हिँडेर विद्यालय जान सक्छन?,’ उनले प्रश्न गरिन।
त्यस्तै निर्माणाधिन सल्यानको कपुरकोट हुँदै रोल्पाको झ्याम रातोमाटा सडक खण्ड नजिकै सल्लेरी जंगलमा बाख्रा चराउँदै गरेका सल्यान छत्रेश्वरी-४ का १२ वर्षीय मञ्जु भण्डारी र उनकी ७ बर्षीया बहिनी धनमायाले विद्यालय जान आउन दैनिक दुई घन्टा हिड्नुपर्ने बताए। ‘म भन्दा साना पनि हिँडेरै विद्यालय जाने गर्छन,’–धनमायाले भनिन्, ‘हामीलाई विद्यालयसम्म जान निकै दुःख छ।’
घन्टौं जंगलको बाटो हिड्नुको विकल्प नहरेकाले विद्यालय जान नपरे पनि हुन्थ्यो भन्ने सोच आएको मञ्जुले भनिन्। ‘बा आमाले जानैपर्छ भन्नु हुन्छ नत्र पिट्नु हुन्छ त्यसैले मात्र बाध्य भएर विद्यालय जान्छौं, मलाई त त्यति टाढाको विद्यालय हिँडेर जान मन नै लाग्दैन,’ उनले भनिन् ।
जैतेकै हेमराज केसीकी आमा उत्तिमाले विद्यालय टाढा भएकाले छोरा ९/१० वर्ष पुगेपछि मात्रै पढ्न पठाउने योजना रहेको बताइन्। ‘यो बालखै छ त्यति टाढाको विद्यालय कसरी जान सक्छ?,’–उत्तिमाले प्रश्न गर्दै भनिन्।
उनले आफ्ना पति कालापहाड गएकाले आफूसँग छोरालाई विद्यालय पठाउन सक्ने सामर्थ्य नरहेको जानकारी दिइन्।
एकातर्फ विद्यालय टाढा हुनु र अर्कौ तर्फ निःशुल्क शिक्षा भनिए पनि मासिक फि तिर्नुपर्ने बाध्यताले पहाडमा विद्यालय पढाइको केन्द्र बन्न नसकेको उनले बताइन्। ३२ वर्षीया उत्तिमाले आफ्ना ५ सन्तानमध्ये ४ जना भने विभिन्न संघ संस्थाको सहयोगमा पढ्दै आएको जानकारी दिइन्।
उनकी जेठी छोरी देवा केसी १५ वर्षकी भइन्। उनले रोल्पाको त्रिवेणी ६ स्थित सरस्वती मावि काउलामा कक्षा ८ मा पढ्दै छिन्। तर, विद्यालय जानुभन्दा पहिले उनले घरको सबै कामधन्दा सक्नुपर्छ। भात भान्सादेखि सबै काम उनकै जिम्मेवारीमा हुन्छ।
विद्यालयबाट फर्किएपछि पनि उनलाई घरको काम नगरी हुँदैन। बारीमा हलो जोत्दै गरेकी परिवारको जेठो सन्तान देवाले आमा र भाइ बहिनी पाल्न आफूले हलो जोत्नुपरेको बताइन्। ‘काम नगरी के खाने, जसरी भए पनि आमा र भाइ बहिनीलाई पाल्नैपर्यो नि,’ देवाले भनिन्, ‘बा रोजगारीको सिलसिलामा इण्डियाको कालापहाडमा रहेको र पाँच सन्तानकी उनकी आमा फेरि गर्भवति भएकाले सबै काम आफैंले गर्नुपरेको बताइन्।
‘आमा गर्भवती हुनुहुन्छ, भाई सानो छ मैले नजोते खेती कसरी लाग्छ अनि हामीले के खाएर बाँच्ने,’ देवाले गुनासो पोखिन्।
गहुँ रोप्न बारी जोतिरहेकी उनले विगत ३ वर्षदेखि आफूले हलो समातेको बताइन्। ‘यो बारीमा १२/१५ मुरी गहुँ र केही मकै उत्पादन हुन्छ, हाम्रो सबै कमाई त्यत्ति नै हो,’ उनले भनिन्।
आफूले र आफ्नी आमाले हलो जोत्नु रहर भन्दा पनि जीवन जीउन गरेको एक संघर्षको रुपमा बुझ्न उनले आग्रह गरिन्। ‘हाम्रो उत्पादनले ६ महिना पनि राम्रोसँग खान पुग्दैन, तपाईँलाई पत्यार लाग्दैन होला, कहिले काँही हामी आधा पेट खाएरै बस्छौं,’ उनले भनिन्।
भोको पेटले पढ्न र विद्यालय जान असम्भव हुने देवाको तर्क छ।
सोही गाउँकै २० वर्षीया कमला केसीले पनि पहाडी जनजीवन निकै कष्टकर रहेको भन्दै बालबालिकालाई विद्यालय जान निकै सकस हुने बताइन्।
‘न यहाँ मोटरबाटो छ, न तराईमा जस्तो विद्यालय जान–आउन बसको सुविधा नै छ। त्यसैले बलिया बाङ्गा र सक्नेहरू मात्रै विद्यालय हिँडेर जान्छन् अनि नसक्नेहरु जाँदैनन्,’ कमलाले भनिन्।
गाउँमा बिजुली बत्ति, बाटो, अस्पताल, सुरक्षाको लागि प्रहरी र सुद्ध पिउने पानीको प्रवन्ध नहुँदा जनजीवन निकै कष्टकर रहेको उनले बताइन्।
१२ कक्षामा अध्यनरत केसीले राज्यको नजरमा पहाडको शिक्षा सँधै उपक्षित रहँदै आएको गुनासो पोखिन्।
पछिल्लो समय लगातार रोल्पाली नेता देशको उच्च ओहोदामा पुगे पनि त्यसको सकारात्मक प्रभाव रोल्पाको शिक्षामा पर्न नसकेको दाबी गरिन्।
‘एक दुई जना हुने खाने र टाठा बाटा मानिसहरू बाहिर गएर पढे लेखेका हुन सक्छन् समग्रमा रोल्पाको शिक्षाको स्तर माथि उठ्न सकेको छैन,’ कमलाले भनिन्।
निर्वाचनको क्रममा शिक्षा क्षेत्रको सुधार र जनताको लागि काम गर्छौ भनेर भोट माग्न आउनेहरू जितेपछि फर्केर नआएको तथा ती सबैले आफ्नो मात्रै दुनो सोझ्याउने गरेकाले पहाडको शिक्षासहित अन्य कुरा जस्ताको त्यस्तै रहेको कमलाले गुनासो छ।
महिलाहरू साँझ बिहानको भात भान्साको लागि खानेपानी लिन तथा मेलापात गर्न घन्टौं संघर्ष गर्न बाध्य पारिएको तथा बालबालिकाले पनि विद्यालय जाँदा त्यस्तै सास्ति खेप्दै गरेको उनले बताइन्। कलिला बालबालिकासमेत घरायसी काममा लाग्नुपर्ने परिस्थितिले उनीहरुको अध्यन प्रभावकारी बन्न नसेकेको उनले तर्क गरिन्।
सरकारले हरेक वर्ष शिक्षामा ठूलो धनरासी खर्चिएको समाचार सुने पनि त्यसको प्रभाव पहाडमा कतै नदेखिएको उनले गुनसो गरिन्। त्यस्तै उनले सरकारले हरेक वर्ष चलाउने विद्यालय भर्ना अभियानले आफ्नो गाउँ ठाउँमा कुनै सकारात्मक प्रभाव पार्न नसकेको भनिन्।
सरकारी स्कूल भए पनि विभिन्न बाहानामा विद्यार्थीले मासिक शुल्क तिर्नु परिरहेको भन्दै उनले त्यो तिर्न नसकेर विद्यालय विचमै छोड्ने क्रम अझैं पाहाडमा नरोकिएको बताइन्।
शिक्षा, स्वास्थ्य, खानेपानीलाई नयाँ संविधानमा मौलिक हकका रुपमा अर्थ्याइएको भए पनि यहाँको जीवनशैली र अवस्था देख्दा त्यो कुरा कितावमा मात्रै सिमित रहेको आभास हुने गरेको कमलाले बताइन्।