दाङमा पतिको कुटपिटबाट पत्नीको मृत्यु भएको छ।
घोराही उपमहानगरपालिका १२ गुर्जे निवासी ४१ वर्षीय रामबहादुर नेपालीले कुटपिट गर्दा उनकी ३७ वर्षीया पत्नी चम्पी नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका अनुसन्धान शाखाका प्रहरी निरीक्षक राजन गौतमले जानकारी दिए।
प्रहरीका अनुसार मदिराले मातेका दुवै पति-पत्नीकाबीचमा कात्तिक ४ गते मध्यरातमा कुटाकुट भएको थियो भने मृत्यु ५ गते दिउँसो ५ बजेतिर भएको थियो।
मृतक नेपालीको बायाँ आँखा र शरीरका विभिन्न भागमा निलडाम देखिएको प्रहरीले जानकारी दिएको छ।
पति रामबहादुरलाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै, दाङको भालुवाङमा एक जना युवक मृत अवस्थामा फेला परेका छन्। राप्ती नदीको तटबन्ध क्षेत्रमा जालीमा अड्किएको अवस्थामा ती युवाको शव बुधबार फेला परेको प्रहरीले जानकारी दिएको छ।
टाउकोमा घाउ देखिएको हुँदा ती युवाको हत्या भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ। तर, मृतकको पहिचान भने भइसकेको छैन। शव पोष्ट मार्टमको लागि काठमाडौंस्थित टिचिङ हस्पिटलमा पठाइएको जिल्ला प्रहरी प्रमुख एवं एसपी कृष्णहरी शर्माले जानकारी दिए ।
दाङमा पोष्टमार्टम गर्ने उपकरण नभएको हुँदा शव काठमाडौं पठाइएको प्रहरीले बताएको छ ।
रोल्पामा खुकुरी प्रहार गरी पत्नीको हत्या
रोल्पामा पतिको खुकुरी प्रहारबाट पत्नीको मृत्यु भएको छ।
गंगादेव गाउँपालिका वडा नं. ५ निवासी ४३ वर्षीय पति सुकलाल सार्कीको खुकुरी प्रहारबाट उनकी ३९ वर्षीया पत्नी देविसरा सार्कीको मृत्यु भएको रोल्पा प्रहरी प्रमुख एवं डिएसपी प्रदीप खड्काले जानकारी दिए।
बुधबार राति ११ बजेतिर आफ्नै घरमा सुतिरहेकी पत्नीलाई सुकलालले खुकुरी प्रहार गरी हत्या गरेका थिए।
हत्या आरोपित सुकलाललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको डिएसपी खड्काले सेतोपाटीलाई बताए।
‘स्थानीयहरूले सुकलालको मानसिक सन्तुलन ठीक थिएन भन्ने जानकारी दिएका छन्, तर हामी अनुसन्धान गर्दैछौं,’ डिएसपी खड्काले भने ।