घोराही उपमहानगरपालिकाले वडा नम्बर ११ को शिवपुरमा सहरी स्वास्थ्य केन्द्र स्थापना गरेको छ। नगर कार्यपालिका बैठकले प्रत्येक वडामा एक वडा एक सहरी स्वास्थ्य केन्द्र स्थापना गर्ने नीति पारित गरे अनुसार स्वास्थ्य केन्द्र स्थापना गरिएको जानकारी दिइएको छ।
वडाका नागरिकहरूको स्वास्थ्य उपचारलाई पहुँचयुक्त बनाउन सहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको नगर स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिए।
कुनै पनि बिरामीलाई उपचारबाट बञ्चित हुन नपरोस् भन्ने हेतुले वडाहरूमा पायक पर्ने ठाउँमा स्वास्थ्य केन्द्रहरू स्थापना गर्ने क्रम जारी रहेको घोराहीका नगर प्रमुख नरुलाल चौधरीले बताए।
यसैबीच बिहिबार औपचारिक कार्यक्रमको आयोजना गरि वडा नं. ११ को शिवपुरमा सहरी स्वास्थ्य केन्द्रका नगर कार्यबाहक प्रमुख सीता सिग्देल न्यौपानेले उद्घाटन गरेकी छन् ।
न्यौपानेले नागरिकलाई निरोगी राख्न तथा घर नजिकै स्वास्थ्य सेवा प्रदान गर्न वडाहरुमा सहरी स्वास्थ्य केन्द्रहरू स्थापना भइरहेको बताइन्।
जटिल प्रकारका रोगीहरूलाई उपमहानगरले पाँच हजार रुपैयाँ साहेताको रूपमा उपलब्ध गराउँदै आएको उनले बताइन्।
सहरी स्वास्थ्य केन्द्रबाट ३२ प्रकारका औषधिहरू नि:शुल्करूपमा प्रदान गरिने केन्द्रका इञ्चार्ज शिवबहादुर कुँवरले जानकारी दिएका छन्। त्यस्तै प्राथमिक उपचार, गर्भवती जाँच, टिबीको उपचार, परिवार नियोजनका साधन वितरण, परामर्श, खोप लगाएतका उपचार सेवा प्रदान गरिने उनले जानकारी दिए।