चितवनका किसानले चरनका लागि दाङ ल्याएका मौरी मरेका छन्।
तोरीबारीमा चरनका लागि राखिएका ४४ घार मौरी नष्ट भएको हो।
चरन क्षेत्रमा राखिएको मौरीको घारमा अज्ञात समूहले विष राखिदिएपछि मह, मौरी र घार नष्ट हुँदा आफूलाई करिब २२ लाख नोक्सान भएको किसान विकास नेपाल क्षत्रीले बताए।
किसान नेपालले दाङको घोराही उपमहानगरपालिका १२ का कृष्णबहादुर घर्तीको तोरीबारीमा चरनका लागि असोज २५ मा मौरी राखेका थिए।
‘मौरीको घारमा नै विष हालिएको रहेछ। मौरी मरे, मह काम नलाग्ने भयो। घार जलाउनुपर्यो’, किसान नेपालले सेतोपाटीसँग भने, ‘२५ गते दाङमा मौरी चरनका लागि छाडेर म दसैं मनाउन चितवन फर्कें। त्यही बेला कसले विष हालिदिएछ। कात्तिक ७ गतेमात्रै मौरी सखाप भएको थाहा पाएँ।’
बिएन बी ‘बी फर्म’ का सञ्चालक समेत रहेका किसान नेपालले स्थानीय टोल विकास संस्थासँग छलफलपछि मात्रै आफूले चरनका लागि मौरी राखेको बताए।
उनले मौरी चराए बापत सिस्नेरी टोलको महिलाका लागि सामुदायिक भवन बनाइदिने प्रतिवद्धता जनाएका थिए।
‘मौरीमा विष राखेर बदमासी गरे’, उनले भने। चितवनका किसानले चार सय ३२ घार मौरी चरनका लागि दाङ ल्याएका छन्।
दाङका प्रहरी प्रमुख एसपी हरिकृष्ण शर्माले मौरीमा विष राख्ने समूहको खोजी भइरहेको बताए। प्रहरीले सिस्नेरी टोलका दुई महिलालाई सोधपुछसमेत गरिसकेको छ।
तोरीमा राखेको विषले मौरी सखाप नहुने भन्दै किसान नेपालले मौरीको घारमै विष राखिएको हुनसक्ने बताए। घारमा मेटासिटको गन्ध आएकोले सो विष हालेको हुनसक्ने प्रहरी अनुमान छ।
दाङमा योसमेत गरी चौथो पटक विषबाट मौरी नष्ट भएको हो। २०५७ सालमा फुर्सेखालीमा २०७२ सालमा बगालेमा र २०७४ सालमा रामपुरमा यसैगरी विष हालिदिएर चरणका लागि ल्याइएका मौरी नष्ट भएका तर, त्यसबेला पनि विष हाल्ने दोषीको पहिचान गर्न प्रहरीले सकेन।
दोषीको पहिचान र उनीहरूबाटै क्षतिपूर्ति भराउनेजस्ता कारबाही नहुँदासम्म गतिविधि नरोकिने नेपाल मौरीपालक महासंघका वरिष्ठ उपाध्यक्ष दीपक श्रेष्ठले बताए। किसानलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने उनले तर्क गरे।