दाङमा एक महिनाको अवधिमा ३८ जुवाडे पक्राउ परेका छन्।
उनीहरु बाट झन्डै साढे ८ लाख रकम बरामद भएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं एसपी कृष्णहरी शर्माले तुलसीपुर र घोराहीका ५ वटा जुवामा प्रहरीले छापा मार्दा ३८ जना पक्राउ परेको तथा करिब साढे ८ लाख बरामद भएको जानकारी दिए।
असोज २ गतेदेखि कात्तिक १० गतेसम्मको अवधिमा भएको पाँच वटा कारबाहीमध्ये जिल्ला प्रहरी कार्यालय दाङले दुइटा र ईलाका प्रहरी कार्यालय तुलसीपुरले तीन वटा जुवामा छापा मारेको जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए।
सो अवधिमा घोराही र तुलसीपुर क्षेत्रबाट १९/१९ जना जुवाडे पक्राउ परे। घोराहीमा तीन लाख दुई हजार सात सय र तुलसीपुर क्षेत्रबाट पाँच लाख उन्नतिस हजार सात सय ८५ रुपैयाँ बरामद भएको प्रवक्ता घर्तीले जानकारी दिए।
गत शुक्रबार बेलुका तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ उत्तर कपडादेवीमा लक्ष्मण चौधरीको घरबाट नौ जुवाडेलाई पक्राउ गरिएको छ।
उनीहरूबाट ४० हजार १ सय ५५ रुपैयाँ नगद र तीन गड्डी तास बरामद भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले जानकारी दिए। त्यसअघि पनि छापा मार्दा एक लाख ३५ हजार नगदसहित सात जनालाई पक्राउ गरेको थियो । दाङमा खुलेयाम जुवा चलिरहँदा पनि प्रहरी मुकदर्शक बनेको भनेर सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ ।