दाङमा एक जना जेष्ट नागरिकको हत्या भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गोलौरा निवासी ७३ वर्षीय सुकलाल भण्डारीको सोही ठाउँ निवासी केशरबहादुर केसी र मईमान बस्नेतको कुटपिटबाट मृत्यु भएको छ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवम् डिएसपी प्रकाश सापकोटाका अनुसार तोरी बारीमा कुलोबाट पानी सिँचाई गर्ने विषयलाई लिएर दुई जनाले भण्डारीलाई कुटपिट गर्दा उनको मृत्यु भएको हो।
डिएसपी सापकोटाका अनुसार भण्डारी गाउँमा सिँचाई कुलोको पानी मिलाउने व्यक्ति हुन्। सोमबार बेलुका साढे ६ बजेतिर मदिरा सेवन गरेका बस्नेतले आफूलाई पालो नदिएको भन्दै भण्डारीलाई कुटपिट गर्नुका साथै लछारपछार पार्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
‘बस्नेतले किन मेरो पालो नआएको भन्दै भण्डारीमाथि कुटपिट गर्नुको साथै लछारपछार पारेछन्,’– डिएसपी सापकोटाले भने ‘ त्यो झगडा छुट्याउनुको साटो उल्टै केसीले बस्नेतलाई साथ दिएको भन्ने खुल्न आएको छ।’
कुटपिट पछि उनीहरूले धकेलिदिँदा भण्डारी कालोपत्रे सडकमा उत्तानो भएर लड्न पुग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
घटनाका आरोपित मध्ये बस्नेतलाई प्रहरीले पक्राउ गरिसकेको भए पनि केसी फरार छन्। कुटपिटमा संलग्न केसी र बस्नेत अन्दाजी ३५ देखि ३७ वर्षसम्मको रहेको प्रहरीले जानकारी दिएको छ।