सल्यानको एक घरमा चोरी गर्न भनि गएका युवाले नै महिलाको हत्या गरेको पुष्टि भएको छ।
सल्यानको शारदा नगरपालिका वडा नं. ८ सिमखर्क निवासी ५० वर्षीया केवली नेपाली असोज २५ गते घरभित्रै मृत अवस्थामा फेला परेकी थिइन्।
उनको घाँटीमा धारिलो हतियारले रेटिएको थियो।
झन्डै २० दिनको अनुसन्धानपछि नेपालीको हत्या सोही ठाउँ निवासी १९ वर्षीय बच्चु र राजु भनेर चिनने वीरबहादुर बस्नेतले गरेको भन्ने पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख एवं डिएसी वीरेन्द्रबहादुर शाहीले सेतोपाटीलाई बताए।
आफ्नी आमाको हत्यापछि भारतबाट घर फर्केर उनका १९ वर्षीय छोरा सन्दीप नेपालीले बस्नेतकाविरूद्ध जाहेरी दिएका थिए।
प्रहरीले भने ‘भुन्टी कुकुर’ले देखाएको बाटोको आधारमा शंका मानेर बस्नेतलाई असोज २६ गते बेलुका नै पक्राउ गरिसकेको थियो।
घटना रहस्यमय देखिएपछि हत्याको भोलिपल्टै प्रहरीले नेपालगञ्जबाट ‘भुन्टी’ नामक कुकुर सल्यान झिकाएर हत्यारा हिँडेको बाटो पत्ता लगाएको थियो।
‘जंगलमा हामीलाई भुन्टीले एकदमै सही बाटो लगेर गयो, त्यसले हामीलाई अपराधी समात्न सहज भयो,’ डिएसपी शाहीले भने।
नेपालीको हत्यापछि बस्नेत सोझै आफ्नो घर नगएर फूपुको घरमा सुत्न गएको अनुसन्धानबाट खुल्न आएको छ।
‘ऊ नेपालीको घरमा पैसा चोर्न भनि गएको रहेछ तर, पैसा नदिएपछि चक्कुले घाँटी रेटेर हत्या गरेको हुँ भनि स्वीकार गर्यो,’ डिएसपी शाहीले भने।