डिआइजीसहित दाङका दुई जना प्रहरी अधिकारीको एकै साथ सरुवा भएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी कृष्णहरी शर्मा र ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाको एकैसाथ प्रहरी हेडक्वाटरमा सरुवा भएको हो।
५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङमा कार्यरत प्रदेश प्रहरी प्रमुख डिआइजी शेरबहादुर बस्नेतको सरुवा भएलगत्तै दाङका दुई प्रहरी अधिकारीको सरुवा भएको हो।
डिआइजी पाँच महिनामा, एसपी तीन महिना नपुग्दै र डिएसपी सापकोटा भने ११ महिनामा सरुवा भएका छन्। डिआइजी बस्नेतसहित दाङका प्रमुख स्थान तुलसीपुर र घोराहीबाट दुई प्रहरी अधिकारी एकै साथ सरुवा भएपछि दाङमा यतिखेर चर्चाको विषय बनेको छ। धेरैले त्यसलाई दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठको ‘दबाब’ को रूपमा अर्थ्याएका छन्। राजनीतिक पहुँचका आधारमा सिडिओले मनोमानी गरेको एक जना प्रहरी अधिकारीले सेतोपाटीलाई बताए।
एकहप्ता दिन अगाडि डिआइजी बस्नेतको एयरपोर्टमा सरुवा भएपछि उनको स्थानमा डिआइजीको रूपमा पिताम्बर अधिकारी आएका छन्।
प्रहरी प्रधान कार्यालयले एसपी शर्मालाई शुक्रबार साँझ काजसरुवा भएपछि उनको स्थानमा बेलबहादुर पाण्डेलाई दाङमा प्रहरी प्रमुखको जिम्मेवारी दिएर पठाउन लागेको प्रहरी स्रोतले जानकारी दिएको छ।
त्यस्तै, ईप्रका तुलसीपुरका प्रमुख डिएसपीको स्थानमा वीरेन्द्र शाहीलाई पोष्टिङ गरिएको छ। डिएसपी सापकोटा तुलसीपुरमा गतसाल मंसिर २४ गते आएका थिए। लगभग वर्षदिनमा डिएसपी सरुवा हुने गर्छन्। उनी ११ महिनामा सरुवा भए ।
‘म त भोलि नै काठमाडौं जाँदैछु,’ डिएसपी सापकोटाले भने ।
केही दिन पहिले मात्रै सरुवा भएर गएका जिल्ला प्रहरी प्रमुख शर्मा र एसपी श्रेष्ठका बीचमा घोराहीमा चलेको भनिएको जुवाको विषयलाई लिएर आरोप प्रत्यारोप छताछुल्ल भएको थियो।
कोजाग्रत पूर्णिमाको रातमा घोराहीमा एक जना कांग्रेस नेताको घरमा जुवा चलेको भन्दै सिडिओले आफ्नो बडीगार्ड लगायत अनुसन्धानका प्रमुखलाई रातभर घर घेरा हाल्न लगाएका थिए । तर त्यसपूर्व नै प्रहरी त्यहाँ पुगेर केही फेला नपारेको भन्दै फर्किएको थियो । सिडिओले खटाएका व्यक्तिले पनि त्यहाँ कुनै सबुत प्रमाण फेला पार्न सकेनन्। त्यसबाट पनि एसपी र सिडिओको बीचमा मनमुटाव थियो भन्ने कुरा छताछुल्ल भएको थियो।
जिल्लाबाट सरुवा भएर जान लागेकामध्ये एकजना प्रहरी अधिकारीले सिडिओ कै ‘भनसुन’ र ‘दबाब’ कारण आफूहरूको सरुवा भएको आरोप लगाए।
‘नेताहरूको प्यारो बन्न पक्राउ परेकाहरूलाई छोड्न दबाब दिने सिडिओको भनाइ हामीले नमान्दा नेता र मन्त्रीलाई भनेर हाम्रो सरुवा गरिएको सत्य हो,’ ती प्रहरी अधिकारीले भने ।
मेरोविरूद्ध प्रायोजितरूपमा गलत समाचार लेखियो : सिडिओ
दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले भने आफ्नो चरित्र हत्या गर्न प्रायोजितरूपमा गलत समाचार लेखिएको भन्दै रोष प्रकट गरेका छन्।
‘मेरो कोहीसँग कुनै रिसिइवी छैन, मैले दबाब दिएको भन्ने कुरा सरासर झूटा हुन्। मेरो चरित्र हत्या गर्न प्रायोजित रूपमा त्यो लेखाइएको छ,’ प्रजिअ श्रेष्ठले सेतोपाटीलाई भने।
आफू १५ गते नै तिहार मान्नलाई काठमाडौं गएको बताएका प्रजिअ श्रेष्ठले कसैकाविरूद्ध भनसुन गर्नको लागि काठमाडौं गएको हो भन्नु आशंका मात्रै भएको बताए।
‘काठमाडौं आउँदैमा भनसुन हुन्छ? फेरि भनसुन गर्ने विषयवस्तु हुनुपर्छ कि पर्दैन र त्यो कुरा त म दाङबाटै फोनमै भन्न सकिहाल्थे नि,’– प्रजिअ श्रेष्ठले अगाडि भने ‘ के नेता र मन्त्रीहरू त्यति हलुका हुन्छन् ? कसैले भन्दैमा गरिहाल्छन्?’,उनले प्रश्न गरे।
प्रजिअ श्रेष्ठले सरुवा भएर गएका डिआइजी, एसपी र डिएसपीसँग आफ्नो कुनै विवाद र मनमुटाव नरहेको स्पष्ट पारे।