बर्दियामा ‘गोली प्रहार’ गरी मोहन खटिकको हत्या गरिएको आशंकामा प्रहरीले शंकास्पद तीन जनालाई पक्राउ गरेको छ।
उनीहरूमाथि अनुसन्धान जारी रहेको ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रदेश प्रहरी प्रवक्ता पुष्पराज शाहीले जानकारी दिए।
बढैयाताल गाउँपालिका वडा नं. ३ गोबरियापुर निवासी ३५ वर्षीय खटिकलाई गोली हानी उनको साथमा भएको ५० हजार लुटेर लगेको स्थानीयले जानकारी दिएका थिए।
स्थानीयले दिएको जानकारी अनुसार सोमबार बिहान १: ४० बजेको समयमा खटिकको घरमा लुटपाट गर्न भनि आएको लुटेराहरुको अज्ञात समूहले उनीमाथि ‘गोली प्रहार’ गरेको थियो।
परिवारका सदस्यले खटिकलाई गोली हानेको बताए पनि घटनास्थलमा गोलीको खोका नभेटिएको प्रहरीले जनाएको छ।
घाइते खटिकको नेपालगञ्जस्थित नर्सिङ कलेजमा बिहान ४: ४५ बजे मृत्यु भएको डिएसपी शाहीले जानकारी दिए ।
घटनाबारे अनुसन्धान जारी रहेको हुँदा लुटपाट गर्ने आएको समूहसँग प्रतिकार गर्दा खटिकको मृत्यु भएको हो कि व्यक्तिगत रिसिइबीले कसैले गोली हानी हत्या गरेको हो, त्यसबारेमा अझै एकिनका साथ भन्न नमिल्ने प्रहरीले जानकारी दिएको छ ।