तुलसीपुर उपमहानगरपालिकाले देउसी-भैलोका नाममा हुने विकृति रोक्ने निर्णय गरेको छ।
मेयर घनश्याम पाण्डेको अध्यक्षतामा सोमबार बसेको बैठकले उपमहानगरपालिकाको ४६औं बैठकले ठूलो आवाजमा गीत बजाउन, घरधनीसँग बलजफ्ती पैसा माग्न, पुरै बाटो ओगटेर देउसी-भैलो खेल्न र साँस्कृतिक पक्षको अवमूल्यन गर्ने खालका नृत्य र गीत प्रस्तुत गर्न नपाइने निर्णय गरेको हो।
साँस्कृतिक मूल्य र मान्यताअनुसार भैलो खेल्नेहरूलाई प्रोत्साहन गर्ने निर्णय समेत उपमहानगरपालिकाले गरेको छ।
त्यस्तै लमही नगरपालिकाको कार्यपालिका बैठकले पनि दीपावलीको नाममा डोरी टाँगेर बाटो छेक्दै देउसी भैलो खेल्न नपाउने तथा ध्वनि प्रदुषण हुने गरेर गीत बजाएर भैलो खेल्न खेलाउन प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
धार्मिक तथा संस्कृति प्रवर्द्धन गर्ने देउसी-भैलो खेल्ने कार्यक्रमलाई भने प्रोत्साहन गर्ने नगरप्रमुख कुलबहादुर केसीले जानकारी दिए।
नगर बैठकले जुवातासलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउने ,नगरभित्र पटका पड्काउन निषेधित गर्ने, मदिराजन्य पदार्थ रातको ८ बजेपछि बेचबिखन गर्न नपाइने, देउसी भैलो राति ९ बजेसम्म मात्रै खेल्न पाइने निर्णय गरेको छ।
राप्ती गाउँपालिकाले पनि तिहारको समयमा हिन्दी गीत बजाएर देउसी-भैलो खेल्ने नपाउने निर्णय गरेको छ।