पश्चिम दाङबाट प्रहरीले २ लाख ७६ हजार रुपैयाँसहित प्रहरीले ३९ जना व्यक्तिलाई पक्राउ गरेको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ टरिगाउँस्थित रमेश चौधरी र दंगिशरण गाउँपालिका वडा नं. २ सरुवा डाँडास्थित वीरबहादुर शाहको घरमा छापा हान्दा ३९ जुवाडेसहित २ लाख ७६ हजार बढी रकम बरामद भएको दाङ जिल्ला प्रहरी प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए।
निमित्त जिल्ला प्रहरी प्रमुख समेत रहेका घर्तीका अनुसार टरिगाउँस्थित चौधरीको घरमा शनिबार बिहान २ बजेतिर छापा हान्दा १५ जना जुवाडे र ८७ हजार ३ सय बरामद भएको थियो भने दंगिशरण २ को सरुवा डाँडास्थित शाहको घरमा छापा हान्दा २४ जना जुवाडेका साथबाट १ लाख ८९ हजार नगद बरामद भएको थियो।
शाहको घरबाट ४८ थान कौडा र चौधरीको घरबाट १०४ थान ताल बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
यसअघि पनि पश्चिम दाङको बबई गाउँपालिका वडा नं. ४ हापुरेवाट कौडा खेलिरहेको अवस्थामा नगद ६० हजार सहित ५ जना जुवाडे प्रक्राउ परेको प्रहरीले जानकारी दिएको थियो ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार बुधवार राति हापुरेस्थित भूपबहादुर बुढाथोकीको घर भाडामा लिएर बस्दै आएका वालिराम खत्रीले उक्त जुवा अड्डा चलाएको भन्ने सूचनाको आधारमा छापा मार्दा ६० हजार बढी नगदसहित ५ जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ।
तीन दिनको अवधिमा तीन वटा जुवा अखडामा कारबाही गर्दा ३ लाख ३६ हजार नगद र ४४ जना व्यक्ति पक्राउ परेको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका सबैलाई जुवा ऐनसम्बन्धी मुद्दा चलाएर कारबाही हुने प्रहरीले जानकारी दिएको छ ।