दाङमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। शनिबार साँझ बबई गाउँपालिका वडा नं. ५ बगरपुरमा ना २ ख ९६३५ नम्बरको बसले ठक्कर दिँदा बबई-५ का २३ वर्षीय मानसिंह वलीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
बेलुका ५ बजेतिर पुरन्धारा झरनामा पिकनिक खाएर फर्किरहेका वलीलाई बसले ठक्कर दिएको थियो। ठक्करबाट वलीको घटनास्थलमै मृत्यु भएको थियो। चालकले मदिरा सेवन गरी बस चलाएको र ब्याक गर्ने क्रममा पछाडिबाट ठक्कर दिँदा वलीको मृत्यु भएको स्थानीयले बताएका छन्।
वलीका परिवार र आफन्तले क्षतिपुर्तिको माग्दै शव उठाउन नमानेपछि प्रहरीले रातभर सडकमै शवलाई सुरक्षा दिएको थियो।
यसैबीच मृतकका आफन्त र स्थानीयले तुलसीपुर–सुर्खेत सडक खण्ड आइतबार बिहानैदेखि बन्द गराएका छन्। राप्ती यातायात सेवा प्रालिका अध्यक्ष तथा पदाधिकारीलाई वार्ताको लागि धेरै आग्रह गर्दा समेत घटनास्थलमा नपुगेको भन्दै स्थानीयले सडक खण्ड अवरुद्ध पारेका हुन्।