बसको ठक्करबाट एक जना युवाको मृत्यु भएपछि आक्रोसित स्थानीयले बबई गाउँपालिका घेराउ गरेका छन्।
सयौंको संख्यामा नारावाजी गर्दै स्थानीयले बबई गाउँपालिका घेराउ गर्न गएपछि त्यहाँ अहिले सम्भावित तोडफोड हुन नपाओस् भनेर ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ।
मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने सवालमा मिलेमतो भएको भन्दै स्थानीयले नाराबाजी गर्दै गाउँपालिका कार्यालय घेराउ गर्न पुगेका हुन्। उनीहरूले स्थानीय सरकार होसियार, हत्यारालाई कारबाही गर, पीडितलाई उचित क्षतिपूर्ति दे भन्ने जस्ता नाराबाजी लगाइरहेका छन्।
यसअघि स्थानीयले आइतबार बिहानैदेखि तुलसीपुर–सुर्खेत सडकखण्ड अवरुद्ध गर्दै आएका छन् । शनिबार बेलुका ५ बजेतिर बसको ठक्करबाट बबई गाउँपालिका वडा नं. ५ निवासी २३ वर्षीय मानसिंह वलीको घटनास्थलमै मृत्यु भएको थियो ।
पुरन्धारा झरनाबाट पिकनिक मनाएर आउँदै गरेको राप्ती यातायात सेवा प्रालिको ना २ ख ९६३५ नम्बरको बसले व्याक गर्ने क्रममा वलीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
पीडित पक्षले वलीको शव उठाउन अझै मानेको छैन। प्रहरीले वलीको शवलाई रातभर सडकमै बसेर सुरक्षा दिएको थियो। चालकले मदिरा सेवन गरी लापरबाहीपूर्वक बस चलाएको हुँदा व्याक गर्ने क्रममा सावधानी नपनाउँदा उक्त दुर्घटना भएको आरोप स्थानीयले लगाएका छन् ।