पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा सहयोग पुर्याउने उद्देश्यले नेपाल पत्रकार महासंघ,सल्यानले मंगलबारको बैठक गुफामा बस्ने निर्णय गरेको छ।
छत्रेश्वरी गाउँपालिकाको लेखपोखरास्थित चाँदनी साततले गुफामा मंगलबार महासंघको बैठक बस्ने निर्णय पारित भएको सचिव शंकर केसीले जानकारी दिए।
महासंघका जिल्ला अध्यक्ष प्रतीक इच्छुक शर्माले उक्त बैठकमार्फत् वार्षिक साधारण सभाको मिति तय गर्ने, स्थापना दिवस मनाउने लगाएतका निर्णय गर्ने जानकारी दिए।
पर्यटकीय स्थलहरूको राम्रो संभावना भएको चाँदनी गुफालाई चर्चामा ल्याउन गुफामा जिल्लाभरका पत्रकार पुगेर बैठक गर्ने निर्णय भएको शर्माले जानकारी दिए।
‘ हाम्रो उद्धेश्य गुफाको महत्त्व उजागर गर्नु हो। चाँदनी गुफा एउटा प्रमुख गन्तव्य स्थल हो भनेर चिनाउनु हो,’ शर्माले भने।
मंगलबार बिहान १० बजे महासंघको बैठक गुफामा सुरू हुने सचिव केसीले जानकारी दिए।