स्थानीय एक जना युवाको बसको ठक्करबाट मृत्यु भएपछि तीन दिनदेखि हापुरे तनावग्रस्त छ।
शनिबार बेलुका ५ बजेतिर बसको ठक्करबाट बबई गाउँपालिका वडा नं. ५ का २३ वर्षीय मानसिंह वलीको घटनास्थलमै मृत्यु भएको थियो।
पुरन्धारा झरनाबाट पिकनिक खाएर तुलसीपुरतर्फ आउँदै गरेको राप्ती यातायात सेवा प्रालिको ना २ ख ९६३५ नम्बरको बसले व्याक गर्ने क्रममा वलीलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ।
घटनाको दिनदेखि शव उक्त स्थानमै छ। मृतकका आफन्तले तीन दिनसम्म पनि शव उठाउन मानेका छैनन्। शवको दिनरात प्रहरीले सुरक्षा दिँदै आएको छ।
चालकले मदिरा सेवन गरि लापरबाहीपूर्वक बस चलाएको हुँदा व्याक गर्ने क्रममा उक्त दुर्घटनान भएको आरोप स्थानीयले लगाउँदै आएका छन् ।
उनीहरूले दोषी चालकलाई कारबाहीको माग गर्दै आइतबार दिनभरजसो नाराबाजी गर्दै प्रदर्शन गरेका थिए। उत्पन्न समस्या समाधान गर्न स्थानीय सरकार, प्रहरी प्रशासनले समयमै चासो नदिएको स्थानीयको आरोप छ।
उनीहरूले आइतबार दिनभरजसो बबई गाउँपालिकाको कार्यालय घेराउ गरेका थिए।
दाङका निमित्त प्रहरी प्रमखु एवं डिएसपी रामप्रसाद घर्तीले भने बसका ठक्करबाट मृत्युपछि पीडित पक्षले प्रचलित नियमविपरीत क्षतिपूर्ति बापत ठूलो रकम माग गर्दा समस्या उत्पन्न भएको सेतोपाटीलाई बताए।
पीडित पक्षले २५ देखि ३० लाखसम्म क्षतिपूर्ति दिनुपर्ने अडान लिएको हुँदा कुरा मिल्न नसकेको उनले बताए।
‘प्रहरीले हिजो राति अबेरसम्म कुरा मिलाउन प्रयास गरेको भए पनि त्यो संभव भएन,’ घर्तीले भने, ‘म आज बिहानै फेरि अधिकारकर्मी र पत्रकारसहित वार्ताको माध्यमबाट समस्या समाधान गर्न भनि जाँदैछु।’
स्थानीयले भने मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने सवालमा प्रहरी प्रशासन र प्रालिका पदाधिकारीबीचमा मिलेमतो रहेको आरोप लगाउँदै आएका छन्।
बसको ठक्करबाट मृत्यु भएका युवाको शव सोमबार बिहान यो खबर तयार पार्दा सम्म सडकमै छ भने घटनापछि तुलसीपुर–सुर्खेत सडकखण्डमा सवारी साधन पनि सञ्चालनमा आउन सकेका छैनन्।