दाङमा शनिबार साँझ ५ बजेतिर हापुरेमा बसको ठक्करबाट मृत्यु भएका मानसिंह वलीको शव सोमबार बेलुका साढे ६ बजेतिर बल्ल उठाइएको छ। बबई गाउँपालिका वडा नं. ५ घर भएका २३ वर्षीय वलीको शव शनिबारदेखि सडकमै थियो।
पुरन्धारा झरनाबाट पिकनिक खाएर तुलसीपुरतर्फ आउँदै गरेको राप्ती यातायात सेवा प्रालीको ना२ख ९६३५ नम्बरको बसले ब्याक गर्ने क्रममा वलीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
पीडित परिवारसँग क्षतिपूर्तिका लागि वार्ता नमिलेका कारण शव तीन दिनदेखि सडकमै थियो। उनीहरूलाई ६ लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएपछि बल्ल शव उठाउन दिएका हुन्।
चालकले मदिरा सेवन गरी लापरवाही पूर्वक बस चलाएको आरोप स्थानीयले लगाएका थिए। उनीहरुले दोषी चालकलाई कारवाही माग गर्दै आइतबार दिनभर जसो नारावाजी र प्रर्दशन गरे। उत्पन्न समस्या समाधान गर्न स्थानीय सरकार, प्रहरी प्रशासनले समयमै चासो नदिएको पनि स्थानीयको आरोप थियो। उनीहरुले आइतबार दिनभर जसो बबई गाउँपालिका कार्यालय घेराउ गरेका थिए।
सहमतिसँगै विगत तीनदिनदेखि असान्त रहेको हापुरे सोमबार बेलुकादेखि सामान्य बन्न थालेको छ। प्रहरी शवको दिनरात सुरक्षा दिँदै आएको थियो।
वार्तामा बसेका एकजना व्यक्तिका अनुसार मृतकको परिवार र बालबालिकालाई अवसर आएमा गाउँपालिकाले प्रथामिकतामा राखेर रोजगार सिफारिस गर्ने सहमति पनि भएको छ। यो सहमतिसँगै अब त्यहाँ सवारीसाधन पनि संचालनमा आउन थालेको प्रहरीले जानकारी दिएको छ।
घटनास्थलबाट दाङ जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी रामप्रसाद घर्तीले दिएको जानकारी अनुसार शव पोष्टमार्टमको लागि तुलसीपुरस्थित राप्ती अञ्चल अस्पतालमा ल्याउन लागिएको छ।