दाङ प्रहरीले एक जना व्यक्तिलाई सहकारीको रकम हिनामिना गरेको अभियोगमा पक्राउ गरेको छ।
राप्ती गाउँपालिका वडा नं. ५ सिसहनियास्थित प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ६६ लाख २९ हजार २ सय ४९ रुपैयाँ हिनामिना गरेको भन्ने जाहेरीका आधारमा ऋण समितिका संयोजक सन्तोषकुमार गुप्तालाई कात्तिक २४ गते भालुवाङबाट पक्राउ गरिएको दाङ जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए।
कात्तिक १८ गते उक्त सहकारी संस्थाका अध्यक्ष टेकबहादुर कार्की, कोषाध्यक्ष रामप्रसाद चौधरी र सदस्य शिवहरी चौधरीले ईलाका प्रहरी कार्यालय भालुवाङमा गुप्तासहित तीन जनाविरूद्ध रकम हिनामिना गरेको भन्दै किटानी जाहेरी दिएका थिए।
त्यस्तै,राप्ती गाउँपालिका वडा नं. ५ पहरुवा निवासी तथा उक्त सहकारी संस्थाकी व्यवस्थापक रमिता चौधरी र उनका पति तथा संस्थाका पूर्व सचिव वसन्तकुमार चौधरीविरूद्ध पनि ६६ लाख २९ हजार २ सय ४९ रुपैयाँ हिनामिना गरेको जाहेरी परेको छ। तर चौधरीका पति/पत्नी फरार रहेको हुँदा खोजी कार्य तीव्र पारिएको ईप्रका भालुवाङका प्रमुख एवं प्रहरी निरीक्षक रवीन्द्रराज पाण्डेले सेतोपाटीलाई बताए ।
यसैबीच,पक्राउ परेका गुप्तामाथि थप अनुसन्धान गर्नको लागि दाङ देउखुरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप भएको प्रहरीले जानकारी दिइएको छ ।
पक्राउ परेका गुप्ता र फरार चौधरी दम्पत्तिविरूद्ध बैंकिङ कसूरसम्बन्धी मुद्दा चलाउने तयारी भइरहेको पाण्डेले बताए ।