५ नं. प्रदेशमा दसैं र तिहारबीचको अवधिमा ३६७ सवारी दुर्घटना भएका छन् भने दुर्घटना परि ४१ जना मानिसको मृत्यु भएको छ।
असोज २४ गतेदेखि कात्तिक २४ गतेको बीचमा ५ नं. प्रदेश अन्तरगतका १२ जिल्लामा (एक महिनाको अवधिमा) भएका दुर्घटनामा परि ६६२ जना घाइते भएको ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जानकारी दिएको छ।
दसैं र तिहारबीचमा सबैभन्दा धेरै २६४ वटा मोटरसाइकल दुर्घटनामा परेको प्रदेश प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लले सेतोपाटीलाई बताए।
त्यस्तै, जीप/कार ५२ वटा, बस २१ वटा, ट्रयाक्टर १७ वटा, ट्रक/ट्यांकर १२ वटा, टिपर ४ वटा, माइक्रो ५, टेम्पो ४ वटा, साइकल, अटो रिक्सा ३१ र अन्य ४४ वटा सवारी साधन गरी ४५४ वटा सवारी साधन दुर्घटनामा संलग्न पाइएको प्रवक्ता मल्लले बताए।
सो अवधिमा ३६७ सवारी दुर्घटना भएको भए पनि त्यही दुर्घटनामा कतै दुई/ तीन वटा गाडीसँगै दुर्घटना हुँदा त्यो संख्या ४५४ वटा पुगेको मल्लले बताए।
५ नं. प्रदेश प्रहरी प्रवक्ता मल्लका अनुसार बेलुका ६ देखि राति १२ को समयमा बढी सवारी दुर्घटनामा परेका छन्। सबभन्दा धेरै बाँके जिल्लामा त्यसपछि क्रमश: कपिलवस्तु, दाङ र रुपन्देहीमा बढी दुर्घटना भएको मल्लले बताए।
प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गमै बढी दुर्घटना भएको पाइएको छ। ‘ड्रिंस ड्राइभले हुनुपर्छ सबभन्दा बढी दुर्घटना बेलुका ६ बजेदेखि राति १२ बजेको बीचमा नै भएको हामीले पायौं,’ प्रवक्ता मल्लले सेतोपाटीलाई भने।
यस्तै, नियमविपरीत सवारी साधन चलाउने १७ हजार ३६२ साधनलाई कारबाही गर्दा १ करोड १० लाख ७ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
१४ जनाको हत्या
बितेको एक महिनाको अवधिमा ५ नं. प्रदेशमा १४ जनाको हत्या भएको छ।
त्यसमध्ये गोली प्रहार गरी २ जनाको हत्या गरिएको छ। त्यस्तै, कर्तव्य गरी ९ पुरुष र ५ महिलाको हत्या भएको प्रहरीले जानकारी दिएको छ। ती घटनामा संलग्नमध्ये ३१ जना पुरुषलाई पक्राउ गरिएको प्रदेश प्रहरी प्रवक्ता मल्लले जानकारी दिए।
यो अवधिमा ५ नं. प्रदेशमा ४१ वटा कुटपिटका र ८ वटा चक्कु तथा छुरी प्रहारका घटनाहरू भएका छन्। त्यसबाट ७० जना पुरुष र १२ जना महिना घाइते भएका थिए। ती घटनामा संलग्न रहेका ४४ पुरुष र ८ महिला गरी ५२ जना एक महिनाको अवधिमा पक्राउ परेको प्रवक्ता मल्लले बताए।
यो अवधिमा बर्दिया जिल्लामा लुकाई छिपाई राखेको एउटा भरुवा बन्दुक र एउटा कटुवा पेस्तोल प्रहरीले बरामद गरेको छ। अवैध हतियार राखेको अभियोगमा १ जनालाई प्रक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। बढैयाताल गाउँपालिका वडा नं. १ गुरुङ टोल निवासी दुर्गाबहादुर वलीको जग्गामा स्काभेटरले माटो खन्ने क्रममा प्लाष्टिकको बोरामा बेरेर गाडी राखेको अवस्थामा एक थान भरुवा बन्दुक बरामद भएको प्रहरीले जानकारी दिएको छ।
एक महिनामा ४३ बलात्कारका घटना दर्ता
५ नं. प्रदेश अन्तरगतका १२ वटा जिल्लामा दसैँ र तिहारबीचमा ४३ वटा जबरजस्ती करणीसम्बन्धी मुद्दा प्रहरीमा दर्ता भएका छन्।
त्यसमध्ये ३९ जनालाई पक्राउ गरी आवश्यक कानुनी कारबाहीको प्रक्रिया सुरू भइसकेको प्रदेश प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए।
त्यस्तै, यो अवधिमा जबरजस्ती करण उद्योगसम्बन्धी १६ वटा मुद्दा दर्ता भएको र त्यसमा संलग्न २० जना पुरुष पक्राउ परेको मल्ले जानकारी दिए। त्यस्तै बालयौन दुर्व्यहार तथा दुरुपयोगका ५ वटा मुद्दा प्रहरीमा दर्ता भएकोमा ५ जना व्यक्तिलाई पक्राउ गर्न प्रहरी सफल भएको मल्लले बताए। प्रहरी अनुसन्धानले धेरैजसो बलात्कारका घटना बेलुका ६ बजेदेखि राति १२ बजेको समयमा भएको पाइएको प्रदेश प्रहरी प्रवक्ता मल्लले सेतोपाटीलाई बताए।
जुवाडेबाट साढे २३ लाख बढी बरामद
दसैँ/तिहार बीचमा ५ नं. प्रदेशमा प्रहरीले २३ वटा जुवामा छापा हानेको छ। त्यसबाट १९० जना मानिस पक्राउ परेका थिए। उनीहरूको साथबाट २३ लाख ६५ हजार ७ सय ७५ रुपैयाँ बरामद भएको प्रहरी प्रवक्ता मल्लले जानकारी दिए।
आगलागी बाट २ जनाको मृत्यु ६ करोड क्षति
एक महिनाको अवधिमा ५ नं. प्रदेशमा आगलागीबाट २ जनाको मृत्यु भएको छ। १ पुरुष र १ महिला गरी २ जनाको मृत्यु भएको र ३ जना महिला घाइते भएको प्रहरीले जानकारी दिएको छ।
आगलागीबाट ३ वटा चौपाया मरेको, ४ वटा जलेर घाइते भएका छन्। त्यस्तै, पंक्षी तथा कुखुरा गरी ३०० आगलागीबाट मेरेका छन्। एक महिनामा ३५ घर १२ वटा गोठ १ विद्यालय ६ वटा सवारी साधन र अन्य विभिन्न २९ वटा आगलागीका घटना भएका छन्। त्यसबाट ६ करोड २६ लाख ८४ हजार ५५० रुपैयाँको धनमाल जलेर नष्ट भएको प्रदेश प्रहरी प्रवक्ता मल्ले बताए।
आगलागीको घटनामा प्रहरीले सक्रिय भूमिका निर्वाह गरेको हुँदा संभावित थप क्षति टरेको उनले दाबी गरे ।
भन्सार छलीको सामान
त्यस्तै भन्सार छली गरी अवैध सामान ओसारपसारमा संलग्न १७ जना मानिस र ४ वटा सवारी साधन कारबाहीमा परेका छन्।
त्यसबाट ३१ लख ६० हजार १८१ रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जानकारी दिएको छ। त्यस्तै, अवैध रूपमा पटाका ल्याउने ७ जना व्यक्ति पक्राउ परेका छन्। उनीहरूको साथबाट तीन लाख २९ हजार ४०७ रुपैयाँ बराबरको पटाका बरामद भएको प्रहरीले जानकारी दिएको छ।
त्यस्तै, बितेको एक महिनाको अवधिमा प्रहरीले अवैध लागुऔषध सम्बन्धी ६१ वटा मुद्दामा ९२ जना मानिस पक्राउ परेको जानकारी दिएको छ।
त्यसमध्ये ८७ जना नेपाली, ३ जना भारतीय र १ जना विदेशी नागरिक पक्राउ परेका छन्। साथै, प्रहरीले विभिन्न खालका जनचेतनामुलक १०८ वटा कार्यक्रमहरू पनि सञ्चालन गरेको ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रदेश प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक पुष्पराज मल्लले सेतोपाटीलाई जानकारी दिए ।