अमृता वली तीन महिनालको दुधे बालक बोकेर तीन घन्टा पैदल हिँडिसकेकी थिइन्। घर पुग्न अझैं उनलाई डेढ घन्टा हिँड्नैपर्ने थियो।
सल्यानको चाक्लिघाटस्थित माइतीबाट रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं. ४ खर्सेवासस्थित घर जाँदै गरेकी २४ बर्षीया वलीको प्यूठ्यूँमा नानीसँगै झोला पनि थियो। यो सबै भारी बोकेरै उनले तारेभिर जस्ता दर्जनौं पहाड छिचोल्दै यहाँसम्म आएको बताइन्।
सरकारले तीन महिना सुत्केरी विदाको प्रवन्ध गरेको छ। अझै त्यो विदा ६ महिना पुर्याउनुपर्ने माग भइरहेको छ । तर विकटका बस्तिहरुमा तीन महिनाकी सुत्केरी वली जस्तालाई भने सरकारको नियमले छुँदैन।
उनका ६ वर्षीय छोरा र बृद्ध आमा सुष्मिता खड्का पनि सँगै हिँडेरै आएका थिए। ६ वर्षको बालक र ६० वर्ष नाघिसकेकी उनीलाई यसरी हिँड्ने रहर होइन बाध्यता हो। कारण पहाडमा धेरै स्थानमा अझैं मोटरवाटो पुगेको छैन।
हाम्रै देशमा सहर बजारको सुख सयलमा बस्नेको जीवन फरक छ। जहाँ पाँच मिनेको दुरी पार्न गर्न पनि सवारी साधनको प्रयोग हुने गर्छ। तर, पहाडको कुरा अलग छ।
रोल्पाकै कोईला नजिकै भेटिएकी २७ वर्षीया लिला पुनको पिठ्यूमा पनि एक वर्षे छोरा थियो। उनको घर र माइती दुबै एउटै वडामा पर्दौरहेछ। कपुरकोट गाउँपालिका वडा नं. ६ झिम्पे माइती र नामीडाँडा घर। एउटै वडा भए पनि भौगोलिक कठिनाईले गर्दा बाटो घाटो छैन। यातायातका कुनै साधन चल्ने सक्ने अवस्था छैन। त्यसैले उनलाई प्यूठ्यूमा एक वर्षको छोरा बोकेर माइती झन्डै ४ घन्टा हिँडिसक्दा पनि घर पुग्न अझैं एक घन्टा जति हिँड्नुपर्ने जानकारी दिइन्।
त्यसैगरी ३१ वर्षिया कल्पना बुढाथोकी पनि सल्यानको श्रीनगरस्थित माइती घरबाट एक्लै जंगलको बाटो हिँडेर रोल्पास्थित घर फर्केदै थिइन्। उनले पनि तीन घन्टा बढी कठिन उकालो वरालो पारगर्दै यहाँसम्म आएकी रहिछन्। घर पुग्न उनलाई अझैं एक आधा घन्टा हिड्नुपर्ने थियो ।
मानव शरिमा धमनी र सिराले जस्तै राम्रो सडकले देशको विकासमा रक्तसञ्चारको भूमिका खेल्छ। उपयुक्त सडक सञ्जाल नहुँदा पहाडमा बसोबास गर्नेहरुको जीवन पुस्तौं पुस्तादेखि मानिसले ‘मसल’ कै भरमा व्यथित हुँदै आएको छ। ‘राज्यले हामीलाई गैर नागरिकको जस्तै व्यवहार गर्दै सँधै विकासबाट अछुतो राख्दै आएको छ,’– कोईला नजिकै भेटिएका प्रबिण भण्डारीले भने ।
धेरैमा आशा जागृत गरेको सल्यान–रोल्पा हुँदै रुकुम पूर्व जोड्ने कपुरकोट झ्याम सडक निर्माणाधिन छ । जस्लाई यसक्षेत्रको विकासमा कोषे ढुङ्गा सावित हुने अपेक्षा गरिएको छ । तर, यस ठाउँको विकासको सूचक ठानिएको बहुप्रतिक्षित उक्त सडक खण्ड कहिले निर्माण पुरा भइसक्छ भन्ने कुनै टुङ्गो छैन । ‘सडक त कहिले निर्माण पुरा हुन्छ त्यो त थाहाँ छैन, तर यो सडकले रोल्पालीको जीवनमा काँचुली फेर्ने छ,’ ३५ वर्षीया रमिला घर्तीले भविस्य कोरिन्।
कोईलामा चामलको बोरा बोकर उकालो चढ्दै गरेकी घर्तीले उक्त सडक खण्ड निर्माण पुरा भएमा यातायात नियमित संचालनमा आउने र त्यसले रोल्पा–रुकुम जस्ता पहाडको काँचुली फेरिने आशा व्यक्त गरिन्।
‘ट्रक, ट्याक्टर, बस आउने बाटो बनेपछि हाम्रा दुःखका दिन जानेछन्,’ उनले भविस्यको सपना बुनिन् ।
यहाँ उत्पादित फलफूल र तरकारी कपुरकोटहुँदै दाङको तुलसीपुर बजारसम्म एकैदिनमा पुर्याउन सकिने हुँदा बाटो छिटो भन्दा छिटो बनाउन आवश्यक रहेको घर्तीको धारणा थियो । बाटो बनेमा एम्वुलेन्स आउने र विरामीको उपचारमा सजिलो हुने उनले विश्वास व्यक्त गरिन्।
जेहोस, दशैंको अन्त्य तिरको समयमा निर्माणाधिन कपुरकोट रातोमाटा सडक खण्मा प्राय सबै महिला र बालबालिका मात्रै फेला परेका थिए। रोल्पा–रुकुम जस्ता पहाडी क्षेत्र नेपालकै विकट भूमि अन्तर्गत पर्छन् । जहाँ रोजगारीका अवसरहरू छैनन्। त्यसैले युवा पुस्ता सुख र रोजगारीको खोजिमा शहर बजार वा विदेसिएको छ। विकट गाउँ घरमा फेला परेका महिला बालबालिका र जेष्ट नागरिकले त्यही भने।
त्यसैले मर्दा पर्दा शव बोक्नेदेखि हलो जोत्नेसम्मका सबै काम महिला अनि बालबालिकाले गर्नुपर्ने परिस्थिति रहेको घाँसको भारी बोकेर जंगलमा हिँड्दै गरेकी एक महिला उर्मिला विष्टले गुनासो गरिन्। ‘लोग्ने मान्छे जति सबै बाहिर छन्। मेलापात र घाँस दाउरा गर्दैमा हाम्रो जूनी वित्ने भयो,’ विष्टले भनिन् ।
रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं. ६ जैतेमा पुग्दा ९४ वर्षीया कमारी केसी दिउँसो एक्लै घरमा थिइन्। भित्तामा अडेस लागेर बसेकी उनले पुरूष जति सबै सहर बजार र विदेश पसेको गुनासो गरिन्। नयाँ पुस्ता सुखको खोजीमा पहाड छोडेर निस्किएको प्रति असुन्तुष्ट उनले पहिलेको तुलनामा पहाडी मानिसको जीवनमा धेरै सजिलो र सुख थपिएको धारणा राखिन्। ‘हामी हिँडेरै दाङ–रोल्पा अनि रोल्पा–नेपालगञ्ज आवात जावात गर्ने गर्थिम्,’केसीले भनिन् ‘अब त कति सजिलो भइसक्यो, जम्मा दुई तीन घन्टा हिड्यो भने गाडी भेटिन्छ।’
उनले आफ्नो पालाको जस्तो पानी भर्न तथा ढिकी जाँतो गर्नकै लागि महिला मध्यरातमा जाग्नुपर्ने अवस्था हाल नरहेको दाबी गरिन्।
जैतेदेखि झन्डै ४ घन्टाको पैदल दुरी पछि सोही वडाको रानीमालामा पुग्दा ७३ बर्षीय रामलाल खत्रीले त्यस्तै गुनासो पोखे। ‘यो ठाउँमा केही परिवर्तन र विकास हुन्छ कि भन्ने आशै आसमा ठाउँ छोड्न सकिएन, तर आजसम्म पनि यो ठाउँ जस्ताको त्यस्तै छ,’ खत्रीले भने। बाटो नहुँदा उत्पादित तरकारी र फूलफूल बजारसम्म पुर्याउन नसकिएको तथा त्यसै कुहिएर जाने गरेको उनले बताए।
राज्यले विकासमा ध्यान नदिदा वर्षेनी पहाडबाट दाङ लगाएतका तराईका जिल्लाहरुमा बसाई सर्नेहरुको संख्या ठूलो रहेको उनले बताए। ‘कति त्यसै घर जग्गा छोडेर गए, मलाई पनि जान निकै ताकेता गरे, तर म यो ठाउँ छोडेर जान सकिनँ,’ खत्रीले भने।
‘मेरो त जीवन नै यही वित्यो, जेठो छोरो पनि नजिकै घर बनाएर बसेको छ। कान्छो विदेश उड्ने तयारीमा छ र माईलो दाङतिरै जग्गा किनेर बसेको छ,’ पहाडको परिस्थिति चित्रण गर्दै रामलालले भने।
उनले छोराहरु बसाई सरेर जान थाले पनि आफू भने बसिरहेको ठाउँ छोडेर कतै जान नसक्ने बताए। ‘जति सुकै विकट भए पनि मेरो जीवनको सबै श्रम र सृजना यही ठाउँमा खन्याएको छु। अब म यो ठाउँ छोडेर अन्त जाने सक्दैन,’ उनले भने।
तर, रामलालले आफ्नो कालपछि आफूले निर्माण गरेको बस्तीमा छोराहरु बस्लान र आफूले जस्तै गरि खेतीपाती गरेर खालान भन्ने विश्वास नरहेको बताए।
रामलालका ५२ वर्षीय जेठो छोरा रमेशले आसपासमा गतिलो स्कूल नहुँदा छोरालाई पढाउनकै लागि दाङको न्यू शान्ति बोर्डिङमा पठाएको जानकारी दिए।
त्यस्तै रामरालकै माईला छोरा दामबहादुरको परिवार पनि दाङमै बस्दै आएका छन्। राज्यले पहाडमा सडक, शिक्षा, स्वास्थ्य र रोजगारका अवसरहरु सृजना गर्न नसकेको उनले गुनासो गरे।
‘बाउ बाजेले चर्चिदै आएको र आफ्नो जन्मथलो छोडेर अन्तजान कसलाई मन हुन्छ,’–२९ बर्षीय दामबहादुरले भने ‘कहिलेसम्म हामी पाषण युगको जीवन बाँची रहने। सन्ततिको भविस्यको लागि भए पनि ठाउँ छोड्न् पर्दौरहेछ।’
रोल्पाको मजुवा गाउँसम्म मोटर जाने गरेता पनि रानीमालास्थित उनको घर पुग्न झन्डै दुई अढाई घन्टा पैदल हिड्नु पर्ने अवस्था छ।
दामोदरले बाटो घाटो विजुली बत्ति, प्रहरी चौकी, अस्पताल लगाएका कुनै पनि सुविधा रानीमालामा नपुगेको बताए । शहर बजार उन्मुख एकाध क्षेत्रबाहेक पहाडमा कतै पनि जीवन सहज छैन।
राजधानी र पोखराबाहेक भौगोलिक कठिनाईले गर्दा पहाडी क्षेत्रमा विकासको पहिलो पूर्वाधार समेत नपुगेको हुँदा पहाडको जनजीवन कष्टकर रहेको केसीले बताए।