तुलसीपुर उपमहानगरपालिकाभित्र रहेका सम्पूर्ण घरहरूको अभिलेख राखिने भएको छ। उपमहानगरले पुराना भवनहरूको अभिलेख व्यवस्थापनसम्बन्धी निर्देशिका २०७५ तयार गरी नयाँ–पुराना सबै घरको अभिलेख राख्ने तयारी गरेको हो।
कार्यविधि अनुसार भवन संहिता २०७२ लागू हुनुपूर्व निर्माण भएको तत्कालीन सडक तथा अन्य निर्धारण गरेको मापदण्ड पूरा नभएको भवनको अभिलेखिकरण मात्रै गर्ने तयारी गरिएको छ।
उपमहानगरपालिकाका शाखा अधिकृत टंक गौतमले अभिलेखिकरण भएका घरहरूले नक्सा पास गरेको भवन सरह विभिन्न निकायबाट पाउने सुविधामा कुनै कमी नहुने बताए।
अभिलेखिकरण भएको घरमा तला थपका लागि भने उपमहानगरपालिकाले अनुमति दिन नसक्ने पनि कार्यविधिमा उल्लेख गरिएको छ। त्यसैगरी, भवन संहिता लागू भइसकेपछि निर्माण भएका र भवन निर्माण संहिता, सडक मापदण्ड र अन्य प्रचलित कानुन वा मापदण्ड पूरा भएको अवस्थामा प्राविधिकको सिफारिसमा नक्सा स्वीकृत गरेर निर्माण पूरा भएको प्रमाणपत्र उपलब्ध गराउने कार्यविधिमा उल्लेख गरिएको छ।
त्यस्तै, भवन संहिता लागू भैसकेपछि उपमहानगरपालिकाबाट सिफारिस लिएका तर भवन निर्माण सम्पन्नको कागजात नलिएको भएमा वडा कार्यालय र प्राविधिकको सिफारिसमा कागजात उपलब्ध गराउने कार्यविधि बनेको इन्जिनियर पवन योगीले जानकारी दिए ।
तर, साविक गाविसहरूमा निर्माण भएका कच्ची घरहरूको नक्सा निर्माण गर्नु अनिवार्य गरिएको छैन। यस्ता घरहरूलाई ५ सय रुपैयाँ अभिलेखिकरण शुल्क तिरेर अभिलेखिकरण गरिने पनि उल्लेख गरिएको छ। भवन संहिता लागू भइसकेपछि निर्माण भएका तर संहिता पालना नगरेको हकमा घरको अवस्थालाई जनाउने गरी अभिलेखिकरण गरिने भएको छ ।
नक्सापासको लागि जुन मितिमा दर्ता गरिएको हो सोहि मितिको एक वर्षभित्रमा आंशिक नक्सापासको प्रमाणपत्र लिइसक्नुपर्ने कार्यविधिमा उल्लेख छ।
कार्यविधिमा २०७५ साउन १ गतेदेखि भवन संहिता २०७२ बमोजिम निर्माण नभएका घर संरचनालाई नक्सापास नगरिने पनि उल्लेख छ। त्यस्ता घरहरूलाई तत्काल नियमानुसार कारबाही गर्ने कार्यवाहक नगरप्रमुख सूर्यबहादुर डाँगीले बताए।