दाङमा एक युवालाई तालमा डुबेको २० घण्टा बित्दा पनि फेला पार्न सकिएको छैन।
घोराही उपमहानगरपालिका वडा नम्बर १५ निवासी १८ वर्षीय लक्ष्मण डिसी आइतबार बेलुका ४ बजेदेखि कृत्रिम जलाशयमा नुहाउने क्रममा डुबेर बेपत्ता छन्।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं एसपी बेलबहादुर पाण्डेका अनुसार डिसी क्रिकेट खेलिसकेपछि नुहाउन भनि तालमा पस्दा बेपत्ता भएका हुन्।
साथीहरूसँगै क्रिकेट खेलेपछि डिसी नुहाउन भनि तालमा पसेपछि बेपत्ता भएको उनका साथीहरूले बताएका छन्।
जलाशय धेरै गहिरो रहेको तथा पानीको सतह धेरै भएको हुँदा बेपत्ता डिसीलाई फेला पार्न नसकिएको एसपी पाण्डेले जानकारी दिए।
नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरीको उद्धार टोलीले डिसीको खोजी जारी राखेको प्रहरीले जानकारी दिएको छ।
पानी सुकाउन चार वटा मोटरले पानी निरन्तर निकालिएको भए पनि जलाशयको पानी सुकाउन मुश्किल भइरहेको प्रहरीले जनाएको छ।