दाङका एक जना वडा अध्यक्षको निधन भएको छ।
घोराही उपमहानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष ४९ वर्षीय लक्षिनप्रसाद बुढाको उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
जन्डिसलगायत विभिन्न रोगबाट ग्रस्त अध्यक्ष बुढाको उपचारको क्रममा भारतको मेदान्त अस्पतालमा बिहीवार बिहान ३ बजेतिर मृत्यु भएको हो।
२०७४ साल असार १४ गते भएको स्थानीय तहको निर्वाचनमा बुढा तत्कालीन नेकपा एमालेको तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए।
उनी गत जेठ महिनादेखि बिरामी परेका थिए। यो बीचमा उनको नेपाल, भारत र थाइल्याण्डमासमेत उपचार भएको थियो। बुढाका एक श्रीमती, दुई छोरा र दुई छोरी छन्।
यसैबीच बुढाको पार्थिव शरीरलाई बिहीवार बिहान ११ बजेदेखि मध्यान्हः १२ बजेसम्म श्रद्धाञ्जलीका लागि नेकपाको पार्टी कार्यालयमा राखिने भएको छ।
बुढालाई अन्तिम श्रद्धाञ्जली दिनका लागि ५ नं. प्रदेशका मुख्य मन्त्री तथा नेकपाका प्रदेश इञ्चार्ज शंकर पोखरेल लगायतका नेता कार्यकर्ता आउने जानकारी दिइएको छ। श्रद्धाञ्जलीपछि बिहीवार दिउँसो नै घोराहीको शंखेपिपलघाटमा उनको अन्तिम संस्कार गरिने भएको छ।