सल्यान प्रहरीले एक जना विप्लवका नेतालाई बैठकस्थलबाटै पक्राउ गरेको छ।
नेपाल कम्युनिस्ट पार्टी सल्यान जिल्ला सचिवालय सदस्य टोपबहादुर खत्रीलाई सल्यान प्रहरीले मंसिर ११ गते बैठकस्थलबाटै पक्राउ गरेको छ।
पार्टीको श्रीनगरमा बसेको बैठकस्थलबाटै खत्रीलाई पक्राउ गरिएको उक्त पार्टीका जिल्ला सेक्रेटरी लोक्पालले जानकारी दिएका छन्।
उनले बैठकस्थलबाटै खत्रीलाई गिरफ्तार गर्नु गैरकानुनी र आपत्तिजनक कार्य भएको हुँदा विनासर्त रिहा गर्न विज्ञप्तिमार्फत् माग गरेका छन्।
राजनीतिक मुद्दालाई व्यक्तिगत र झूटा मुद्दा बनाएर खत्रीलाई फसाउन खोजिएको भन्दै जिल्ला सेक्रेटरी लोक्पालले त्यसको विरोध गरेका छन्।
टेण्डर च्यातेको हुँदा पक्राउ –डिएसपी शाही
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख वीरेन्द्रबहादुर शााहीले भने खत्रीले टेन्डर च्यातेको हुँदा पक्राउ गरिएको जानकारी दिएका छन्।
दार्मा गाउँपालिकाले सडकको उत्खननको लागि दर्ता भएको ११ वटा टेण्डरका फारम च्यातेको हुँदा टोपबहादुर खत्रीलाई पक्राउ गरिएको डिएसपी शाहीले बताए।
छत्रेश्वरी गाउँपालिका वडा नं. १ निवासी खत्री लगायतका अन्य चारजना मिलेर गाउँपालिकाबाट टेण्डर निकालेर च्याति फालेको हुँदा उक्त गाउँपालिकाको नेकपाको इञ्चार्ज समेत रहेका खत्रीलाई पक्राउ गरिएको शाहीले जानकारी दिए।
गाउँपालिकामा गएर फारम च्यात्ने विप्लवका गाउँपालिका इञ्चार्जलाई खत्रीलाई पक्राउ गरेपछि अरुको पहिचान र खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले पक्राउ परेका खत्रीमाथि सार्वजनिक अपराधसम्वन्धी मुद्दा चलाउने जानकारी दिएको छ ।