दाङको घोराहीमा एक व्यवसायीको हत्या आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
दाङ जिल्ला प्रहरी प्रमुख एवम् एसपी बेलबहादुर पाण्डेले पक्राउ परेका व्यक्ति समेत घाइते अवस्थामा फेला परेको सेतोपाटीलाई बताए। ‘ऊ पनि घाइते अवस्थामा फेला परेको छ, त्यसैले अहिले हामीले उसलाई केही सोधेका छैनौं, अनुसन्धान भोलि बिहानदेखि सुरू हुन्छ,’ एसपी पाण्डेले भने।
घाईते अवस्थामा फेला परेका ती व्यक्तिको कोठामा केही निर्माण सम्वन्धि औजार र सामाग्रीसमेत फेला परेकाले उनी मिस्त्री भएको हुनसक्ने प्रहरीले पूर्व अनुमान गरेको छ। ‘ पक्राउ गरिएका व्यक्ति मिस्त्री हुन कि त्यही हार्डवेयरमा काम गर्ने व्यक्ति हुन्? त्यो भने अनुसन्धान पछि मात्रै भन्न मिल्छ,’ एसपी पाण्डेले भने ‘मृतककी पत्नी बेहोस अवस्थामा रहेकाले अहिले प्रहरीले उहाँलाई केही कुरा सोध्न सकेको छैन।’
प्रहरीले पक्राउ परेका व्यक्तिको नाम र ठेगाना भने खोल्न चाहेन। ‘ऊ घाइते अवस्थामा फेला परेको हुँदा हत्यामा उसको कुनै पनि प्रकारको संलग्नता छ भन्ने निश्चित जस्तै छ, तै पनि बाँकी कुरा भोलि अनुसन्धान पछि मात्रै सार्वजनिक गर्दा राम्रो होला,’ एसपी पाण्डेले भने।
बिहीवार बेलेका मात्रै घोराहीमा हार्डवेयरको व्यवसाय गर्दै आएका ४५ बर्षीय नन्दबहादुर घर्ती मगरको चक्कु प्रहार गरि हत्या भएको थियो।
घोराही उपमहानगरपालिका वडा नं. १३ लामिडाँडाको दुधेसोतामा बिहीवार बेलुका ८ बजेतिर घर्ती मगर गम्भीर घाइते अवस्थामा फेला परेका थिए। उनलाई तत्तकालै घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याए लगतै चिकित्सकले मृत घोषणा गरेका थिए।
रोल्पा जिल्लाका स्थायी बासिन्दा घर्ती मगर पछिल्लो समय घोराही बसपार्कको पुल नजिकै माडी हार्डवयर पसल सञ्चालन गर्दै आएका थिए।
मगरको हत्याको कारण अनुसन्धान पछि मात्रै सार्वजनिक गर्ने प्रहरीले बताएको छ।