तुलसीपुर उपमहानगरपालिकालाई शनिबारदेखि फेरि ‘हर्न निषेधित क्षेत्र’ घोषणा गरिएको छ।
तुलसीपुर बजारलाई गत वर्ष नै हर्न निषेध क्षेत्र घोषणा गरिएको थियो। वडा नं. ५ का वडा अध्यक्ष वीरेन्द्र शाहले उक्त घोषणा गरेका थिए । त्यो प्रयासले केही सुधार आएको भए पनि अनुगमन र कारबाही गर्ने निकाय नहुँदा प्रभावकारी भने बन्ने सकेको थिएन।
शनिबार फेरि तुलसीपुर उपमहानगरपालिकाले तामझामका साथ कार्यक्रम गरी हर्न निषेधित क्षेत्र घोषणा गरेको हो। त्यसपूर्व बजारमा सचेतनाको लागि र्यालीको समेत आयोजना गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख घनश्याम पाण्डेले सामान्य मानिसको जनजीवनमा ध्वनीले प्रतिकूल प्रभाव पार्ने भन्दै तुलसीपुर उपमहानगरपालिकालाई हर्न निषेध घोषणा गरिएको बताए।
उनले अति आवश्यक समयबाहेक कसैले पनि लापरबाहीपूर्वक हर्न बजाएको पाइएमा ५ सयदेखि १ हजार ५ सयसम्म जरिवानाको व्यवस्था गरिएको बताए।
उनले जनतामा चेतनाको विकास हुन सकेमा हर्न निषेधित क्षेत्र घोषणा व्यवहारिक रूपमा कार्यान्वयन हुने आशा व्यक्त गरे। उपमहानगरपालिकाको बजार क्षेत्रभित्र पूर्वमा कालाखोला, पश्चिममा दोघरे, उत्तरमा रक्षाचौर दक्षिणमा एयरपोर्ट भित्रको क्षेत्रलाई हर्न निषेध घोषणा गरेको वडा नं. ५ का वडा अध्यक्ष विरेन्द्र शाहले जानकारी दिए।
कार्यक्रममा चालकहरूले ट्राफिक नियमको पालना गर्ने र हर्न नबजाउने प्रतिवद्धता जाहेर गरेका थिए।
तर, उपस्थित कतिपयले भने मनपरी गर्नेलाई कारबाही नहुँदासम्म हर्न निषेधित क्षेत्र व्यवहारिक रूपमा कार्यान्वयमा आउनेमा आशंका व्यक्त गरेका थिए।
त्यस्तै, कतिपयले सडकको अवस्था साँघुरो र नाजुक रहेसम्म हर्न निषेध कार्यान्वयमा आउन जटिल कुरा भएको बताए ।
‘सडक यति साँघुरो छ , यसैमा पशु चौपाया छन्, यसैमा मानसिक सन्तुलन गुमाएका मानिस हिँड्छन्,’ एकजना चालकले भने ‘ त्यसमा पनि अटेरी मोटरसाइकल चालक र मनपरी बाटो काट्ने यात्रुले दिकदार पार्छन् अनि हर्न नबजाई हुँदैन।’