बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायका लागि प्रदर्शन भइरहेको बेला दाङमा प्रहरीले ७ जना नेपाल कम्युनिस्ट पार्टीका नेता/कार्यकर्तालाई पक्राउ गरेको छ।
दाङको लमहीमा निर्मला पन्तको न्यायका लागि शान्तिपूर्ण रूपमा प्रदर्शन गरिरहेको समयमा नेपाल कम्युनिस्ट पार्टी दाङका जिल्ला सचिवालय सदस्य किरण डाँगी,एकराज चौधरी, अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष प्रितिमा चौधरी लगायत सात जना विद्यार्थीलाई वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक अरुण सिंहको नेतृत्वको टोलीले पक्राउ गरेको हो।
तर, प्रहरीले भने विप्लव नेतृत्वका कार्यकर्ताले जबरजस्ती विद्यार्थीलाई कार्यक्रममा लैजान खोजेको हुँदा त्यसलाई रोकेको दाबी गरेको छ।
दाङ जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले विद्यार्थीलाई जबरजस्ती आन्दोलनमा लैजान खोजेको हुँदा प्रहरीले रोकेको बताए।
‘कसैलाई पक्राउ गरिएको छैन, जबरजस्ती विद्यार्थीलाई आन्दोलनमा लैजान खोजेपछि केही बेर उनीहरूलाई प्रहरीले रोकेको मात्रै हो ,’ एसपी पाण्डेले भने।
निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार महिना बितिसक्दा पनि राज्यले अहिलेसम्म त्यसमा संलग्न व्यक्तिको पहिचान गर्न तथा पक्राउ गर्न नसकेको हुँदा न्यायका लागि प्रदर्शन गर्नु परेको अखिल क्रान्तिकारीका दाङ जिल्ला सचिव अमर खड्काले बताए।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा जिल्लाका प्रमुख सहरहरू तुलसीपुर, घोराही,लमही लगायतका जिल्लाका दस वटा स्थानीय तहमा निर्मला पन्तको न्यायको लागि भन्दै प्रदर्शन गरिएको थियो।
अखिल क्रान्तिकारीका सचिव खड्काले राज्यले अपराधीलाई संरक्षण गर्ने गतिविधि गरेको हुँदा त्यसविरूद्ध प्रदर्शन गर्नु परेको बताए।
नयाँ युगको सुरूआत पोल पोलमा केपीको तस्वीर टाँगेर हैन, बलात्कारीलाई कारबाही गरेर नयाँ युगको सुरूआत गर्न प्रदर्शनमा सहभागीहरूले माग गरेका थिए ।