अपांगता भएका व्यक्तिहरूले जिल्लामा कतै पनि सरकारी कार्यालयहरू अपाङ्गमैत्री नहुँदा आफूहरूले सास्ती खेप्नु परेको गुनासो गरेका छन्।
२७ औं अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा दाङको तुलसीपुरमा आयोजित र्यालीका सहभागीहरूले भौतिक संरचना अपांगमैत्री नहुँदा आफूहरू जस्तालाई कुनै पनि काम गराउन घन्टौं कुर्नुपर्ने अवस्था रहेको दुखेसो पोखे।
एक जना अपांगता भएका रोशन गिरीले सरकारी कार्यालयमा कुनै पनि कामकाजले जानुपर्दा हाकिम र कर्मचारीलाई घन्टौं कुर्नपर्ने बाध्यता रहेको बताए।
‘अपांगमैत्री संरचना नुहँदा हामी आफैं सहयोगीको भरमा उहाँहरूलाई भेटन माथि नै जान सक्थ्यौं,’गिरीले भने, ‘माथिल्लो तलामा बस्ने कर्मचारी र हाकिम तल ओर्लन नमान्दा हामीले कष्ट भोगेका छौं।’
उनले तुलसीपुरस्थित राप्ती अञ्चल अस्पताल बाहेक सबै भौतिक संरचना अपाङ्ग मैत्री नभएको बताए। गिरीले अञ्चल अस्पताल पनि नाममात्रैको अपांगमैत्री रहेको हुँदा त्यहाँ पनि पूर्ण अपाङ्गहरू जान मिल्ने खालको नभएको बताए।
प्रहरीका घर, मालपोत कार्यालय, यातायात कार्यालय, कर कार्यालय, खानेपानी कार्यालय, विद्युत कार्यालय, ईलाका प्रशासन कार्यालय, राष्ट्रिय बाणिज्य बैंक तथा कु नैपनि वित्तीय बैंकहरू अपांगमैत्री नरहेको उनले बताए।
र्यालीमा सहभागी अर्का एक जना अपांगता भएका व्यक्ति बच्चुले आफू आइतबारमात्रै मेयरलाई भेट्न उपमहानगरपालिका पुग्दा ३ घन्टा बाहिरै कुर्नु परेको गुनासो गरे।
‘मेयर सापसँग समय मागेर उहाँले भनेकै समयमा कार्यालयमा पुगेको थिए, तर पनि उहाँलाई ३ घन्टा जति बाहिरै कुर्नु पर्यो,’ बच्चुले भने।
आफूहरूले अघिपछि पनि कुनै पनि कार्यालय पुग्दा अपांगमैत्री भौतिक संरचना निर्माण नगरेको हुँदा सास्ती खेप्नु परेको उनले बताए।
‘हाम्रा साथीहरू नागरिकता बनाउन जाँदा होस् वा मालपोत कार्यालयमा जग्गासम्बन्धी काममा जाँदा सास्ती खेप्नु परेको छ,’ बच्चुले भने।
सरकारले अपांगमैत्री कुरामात्रै गर्ने गरेको तर व्यवहारमा त्यो देख्न नपाएको गुनासो उनको थियो।
अपांगता दिवसमा तुलसीपुरमा र्याली
२७ औं अन्तराष्ट्रिय अपांगता दिवसको अवसरमा दाङमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ।
तुलसीपुर उपमहानगरस्तरीय अपांगता समन्वय समितिको आयोजनामा अपांगता क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले र्याली निकालेका छन्।
‘मलाई गणना गर,समावेश गर’ भन्ने मूल नारासहित र्यालीका सहभागीहरूले तुलसीपुर बजारको परिक्रमा गरेका थिए। तुलसीपुर उपमहानगरपालिकाबाट सुरू भएको र्यालीका सहभागीहरूले अपांगता भएका व्यक्तिहरूको सशक्तिकरण तथा समावेशिता र समानताको सुनिश्चिता गर्न सरकारसँग माग गरेका छन्।
र्यालीका सहभागीहरूले ‘अपांगता भएका व्यक्तिहरूलाई आरक्षणको व्यवस्था गर, रोजगारीको व्यवस्था गर’ भन्ने जस्ता प्ले कार्ड बोकेकाहरूले विभिन्न सचेतनामूलक नारा पनि लगाएका थिए ।