दाङका एक व्यवसायीबाट १२ लाख नगद लुटेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
घोराही उपमहानगपरपालिका वडा नं. ५ निवासी ५६ वर्षीय मानसिंह ओलीको १२ लाख नगद लुटपाट गरेको अभियोगमा दाङकै राजपुर गाउँपालिका वडा नं. ५ सालभौरी निवासी ३५ वर्षीय डिल्लीबहादुर रोकायालाई पक्राउ गरिएको प्रहरीले जनाएको हो।
जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी रामप्रसाद घर्तीले रोकाया समेत ४/५ जनाले आक्रमण गरी ओलीको साथबाट मंसिर १९ गते राति साढे ९ बजेतिर १२ लाख नगद लुटेका थिए।
दाङको राजपुर गाउँपालिका वडा नं. ५ भेटनी खोलाको ढुङ्गा खरिद गर्न भनि गएका ओलीको साथबाट रोकायालगायका व्यक्तिले कुटपिट गरी १२ लाख नगद लुटपाट गरेको प्रहरीले जानकारी दिएको छ।
व्यापारीलाई कुटपिट गरी रकम लुटपाट गर्ने रोकायालाई राजपुर गाउँपालिका वडा नं. ७ स्थित सिक्टा गाउँमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले शुक्रबार पक्राउ गरेको प्रहरी प्रवक्ता घर्तीले सेतोपाटीलाई बताए।
पक्राउ परेका रोकायाको साथबाट नगद दस लाख ५० हजार रकम समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ।
घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको तथा घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।