दाङको तुलसीपुरमा ट्रयाक्टरको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ रानीजरुवा निवासी १२ वर्षीय नवीन वलीको शुक्रबार साँझ ट्रयाक्टरको ठक्करबाट मृत्यु भएको हो। ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले तुलसीपुर ८ टिकरीमा लु २ त ४१८७ नम्बरको ट्रयाक्टरको ठक्करबाट वलीको घटनास्थलमै मृत्यु भएको थियो।
प्रहरी स्रोतका अनुसार वली त्यही ट्रयाक्टरमा लेवरको रूपमा बालुवा गिट्टी उठाउन भनि गएका थिए। ईप्रका तुलसीपुरमा पुगेका मृतकका आफन्तले भने बालकको ट्रयाक्टरको ठक्करबाट मृत्यु भएको हो कि अरु केही कारणले मृत्यु भएको हो, त्यसबारेमा छानबिन हुनुपर्ने माग गरेका छन्।
बालक वलीको मृत्यु भएलगत्तै उक्त ट्रयाक्टर भने चालकले तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ स्थित दमार गाउँको जंगलमा लगेर लुकाएको अवस्थामा शनिबार मात्रै फेला परेको प्रहरीले जानकारी दिएको छ।
‘व्याट्री निकालेर सबै वाइरिङ तारहरू छिनालेको अवस्थामा जंगलमा लुकाएको अवस्थामा ट्रयाक्टर प्रहरीले फेला पारेको हो,’ ईप्रका प्रमुख शाहीले भने।
उनले चालकलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।