पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको रिहार नजिकै बेहुली लिएर घर फर्कदै गरेको स्कार्पियो र यात्रु बाहक बस एकआपसका ठोकिँदा ६ जनाको मृत्यु भएको छ भने थप दुई जना गम्भीर घाईते भएका छन् ।
लमही नगरपालिका वडा नम्बर ९ रिहारस्थित गाजवास भन्ने स्थानमा बिहीबार बिहान साढे १ बजे चितवनबाट बेहुली लिएर बाँकेस्थित समशेरगञ्ज घरतर्फ जाँदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो र पश्चिम महेन्द्रनगरदेखि पूर्वतर्फ जाँदै गरेको ना ५ ख ४०९० नम्बरको यात्रुबहाक बस एक आपसमा ठोकिँदा उक्त दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।
उक्त दुर्घटनामा परि स्कारपियोमा सवार बेहुलाका बुवा, आमा र ५ बर्षीय भतिजाको घटनास्थलमै मृत्यु भएको भएको छ।
वडा प्रहरी कार्यालय लमहीका सई पुरन मल्लले सेतोपाटीलाई दिएको जानकारी अनुसार दुर्घटनामा परि राप्ती सोनारी गाउँपालिका वडा नं. ८ सम्शेरगञ्ज निवासी दुलाहाका बुवा ५३ वर्षीय मानबहादुर केसी, आमा ४५ वर्षीया विमला केसी, भतिजा ५ वर्षीय प्रबिण केसीको मृत्यु भएको छ।
त्यस्तै सोही ठाउँकै ४९ वर्षिय विश्व अधिकारी, ३१ वर्षीय दिपकुमार खड्का र कोहलपुर नगरपालिका वडा नं. १३ का ७८ वर्षीय दत्तबाहदुर खत्रीको पनि मृत्यु भएको सई मल्ले जानकारी दिए ।
सोही दुर्घटनामा परी स्कार्पियो चालक सम्शेरगञ्जकै २१ बर्षीय यमबहादुर राना र सम्शेरगञ्जकै ४५ वर्षीया गीतादेवी खत्री पनि घाईते भएका छन्।
घाईते मध्ये खत्री खतरा मुक्त रहे पनि चालकको अवस्था गम्भीर रहेको र उनीहरूको उपचार कोहलपुर मेडिकल कलेजमा भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार स्कारपियोमा जम्मा ८ जना मात्रै सवार थिए। त्यसमध्ये ६ जनाको मृत्यु भएको र दुई जना घाईते रहेको प्रहरीले जानकारी दिएको छ।
मृतक सबैको शव पोष्टमार्टमका लागि दाङको लमही अस्पतालमा राखिएको छ।
बेहुला बेहुली छुट्टै गाडीमा रहेको हुँदा उनीहरू भने सकुशल रहेको प्रहरीले जानकारी दिएको छ। ‘आमा बुवासहित केही आफन्त अलि छिटो घर पुगेर जन्तीको लागि बन्दोबस्त गर्न जान खोजेको भन्ने खुलेको छ,’– सई मल्ले भने, ‘ त्यसैले दुलाही दुलहीको गाडी अलि पछाडि बिस्तारै जाँदै गरेका रहेछन्।’
दुर्घटनाको कारण भने थाहाँ नभएको र त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। ‘तीव्र गतिको कारणले हो वा हुस्सुले बाटो नदिखिएर हो, त्यसवारे अहिले नै केही भन्न सक्ने अवस्था छैन ,’ सई मल्ले भने।
शमशेरजञ्ज निवासी २७ बर्षीय यज्ञबहादुर केसीले चितवनकी २५ वर्षीय लक्ष्मी पौडेललाई बिहे गरी घर लैजादै गर्दा उक्त दुर्घटना भएको थियो।
बसमा सवार सबै मानिस भने सकुशल रहेको प्रहरीले जानकारी दिएको छ।