तुलसीपुर उपमहानगरपालिकाले ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुरलाई नयाँ घर हस्तान्तरण गरेको छ।
नयाँ भवन उपमहानगरपालिकाको ३१ लाख र प्रहरीको दुई लाख बराबरको श्रमदान समेत गरी झन्डै ३३ लाखको लागतमा निर्माण भएको प्रदेश प्रहरी प्रवक्ता पुष्पराज मल्ले सेतोपाटीलाई जानकारी दिए ।
बिहिबार पुरानो गुल्ममा निर्माण गरिएको प्रदेश प्रहरी भवनको तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले प्रदेश प्रहरी प्रमुख एवं डिआइजी पिताम्बर अधिकारीलाई हस्तान्तरण गरेका हुन्।
दाङलाई प्रदेशको राजधानी बनाउनका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण र क्षेत्रको व्यवस्थापनमा स्थानीय सरकार गम्भीर भएर लाग्ने मेयर पाण्डेले बताए।
भौतिक पूर्वाधार निर्माण र आर्थिक रूपमा कुनै पनि कठिनाइ उत्पन्न हुन नदिने यस क्षेत्रका व्यापारी र उद्योगी सबै लाग्नुपर्ने उनको भनाइ थियो।
यसअघि भाडामा बस्दै आएको प्रदेश प्रहरी कार्यालय नयाँ घरमा सरेसँगै व्ययभार कम भएको मेयर पाण्डेले बताए।
‘प्रदेश प्रहरी कार्यालयको आफ्नै भवन नुहँदा पक्कै पनि समस्या थियो, उहाँले मलाई धेरै पटक भेटेरै भवन निर्माणमा सहयोग गर्न आग्रह गर्नु भएको हुँदा सहयोग गरिएको हो,’ मेयर पाण्डेले भने।
प्रदेश प्रहरी कार्यालयले आफ्नै नयाँ भवन प्राप्त गरेको भएपनि अझैसम्म डिआइजी भने भाडाको घरमा बस्दै आएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै डिआईजी अधिकारीले उपमहानगरको सहयोग भन्नु नै जनताको सहयोग भएको हुँदा प्रहरीले जनताको मन जित्नेगरी काम गर्ने बताए। उनले जनताको तर्फबाट समयमै सूचना लगाएत अन्य खालको सहयोग निरन्तर हुनुपर्ने बताए।
प्रदेश नं. ५ का १२ वटै जिल्लाहरूमा शान्ति सुरक्षा कायम गर्न प्रदेश प्रहरी कार्यालयले कुनैपनि कसुर बाँकी नराख्ने उनले दृढता व्यक्त गरे ।
त्यसले गर्दा प्रदेश प्रहरीलाई मासिक आधा लाख बढी रकम भाडा तिर्नु परेको प्रदेश प्रहरी प्रवक्ता मल्लले जानकारी दिए।
अपराध अनुसन्धान र शान्ति सुरक्षामा खटिने प्रहरीलाई आफ्नै भवन नहुँदा भोग्नु परेको असहज परिस्थिति अब समाप्त भएको प्रहरीले जानकारी दिएको छ।
त्यस्तै, उपमहानगरपालिका इञ्जिनियर पवन योगीले उपमहानगरपालिकाको ३१ लाख अनुदान र संघीय प्रहरीको दुई लाख बराबरको श्रमदान समेतगरी झन्डै ३३ लाखको लागतमा तीन कोठे भवन निर्माण भएको जानकारी दिएका थिए।
नयाँ घरमा पार्टीयसन गरेर प्रहरी अधिकारीको लागि कार्यकक्ष निर्माण गरेको योगीले बताए। भवनसँगै शौचालय समेत निर्माण गरिएको छ।