तुलसीपुर बजार क्षेत्रमा १५ दिनमा हर्न बजाउने झन्डै तीनसय सवारी साधनमाथि कारबाही भएको छ।
मंसिर १६ गतेदेखि तुलसीपुर उपमहानगरपालिकालाई हर्न निषेधित क्षेत्र घोषणा गर्दै अटेरी गर्ने सवारी चालकलाई कारबाही थालिएको थियो।
ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं प्रहरी नायब निरीक्षक चन्द्रबहादुर केसीका अनुसार १५ दिनको अवधिमा तुलसीपुर बजार क्षेत्रमा मात्रै झन्डै ३ सय सवारी साधनलाई कारबाही भएको छ।
१३ वटा बसबाट ७ हजार ५ सय रुपैयाँ, २३ वटा ट्रकबाट ११ हजार ५ सय रुपैयाँ, ८ वटा ट्याक्टरबाट ४ हजार रुपैयाँ, २६ वटा जिप/कारबाट १३ हजार ५ सय रुपैयाँ, २ वटा अटोबाट १ हजार रुपैयाँ, ७३ वटा मोटरसाइकलबाट ३८ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको प्रमुख केसीले बताए ।
२९३ सवारीमध्ये हालसम्म १४३ वटा साधनले मात्रै जरिवाना तिरेको र अन्य साधनको कागजात राखिएको हुँदा उनीहरू पनि क्रमश: आएर जरिवानाबापतको राजस्व बुझाउँदै कागजात लैजाने गरेको केसीले जानकारी दिए।
तुलसीपुरका ट्राफिक प्रमुख केसीका अनुसार अझै १० वटा बस, १९ वटा ट्रक, ४ वटा ट्याक्टर, २७ वटा जिप/कार, १५ वटा अटो र ७५ वटा मोटरसाइकलले राजस्व बुझाउन बाँकी नै छ। ती सबै सवारीले पनि अनिवार्यरूपमा राजस्व बुझाएरमात्रै सवारी धनीको कागजात पाउने हुँदा सबैबाट डेढ लाख राजस्व संकलन हुने प्रमुख केसीले जानकारी दिए ।