पछिल्लो समय २०७१ साल फागुन २७ गते तुलसीपुरलाई उपमहानगरपलिका घोषणा गर्दा साविक फूलवारी, डुरूवा, विजौरी, मानपुर, पवननगरलगायतका गाविस यसमा गाभिएका थिए।
तर, दाङ–सल्यानको सीमाना जोडिएको एउटा बस्ती कल्ले–बल्ले भने विक्रम सम्बत २०४९ साल अर्थात नगर स्थापना कालदेखि कै नगरपालिका क्षेत्र हो।
नगरपालिकाहुँदै उपमहानगरपालिका भएको २६ वर्ष वितिसक्दा पनि यहाँको स्थिति भने ‘जस्ता थिए मितज्यू उस्ता उस्तै’ भन्ने नेपाली उखानको चरितार्थ हुने खालको मात्रै छ।
साविक तुलसीपुर नगरपालिका वडा नं. १, ७ र १० नं. वडालाई मिलाएर हालको उपमहानगरपालिका वडा नं. ३ बनाइएको छ।
त्यही वडा नं. ३ अन्तर्गतको कल्ले–बल्ले, नाउला, अम्बासमा हालसम्म विजुली बत्ती, अस्पताल, विद्यालय, बाटो र सुरक्षा केही पनि उपलब्ध छैन।
त्यो बस्ती उपमहानगर भित्रको सबैभन्दा विकट पहाडी क्षेत्र भए पनि त्यसको विकासमा हालसम्म कसैले चासो दिएका छैनन्।
वडा नं. ३ मा झन्डै ५४ वटा गाउँ छन्। ७ हजार २ सय ७८ जनसंख्या रहेको यो ठाउँमा हालसम्म पनि विकासको कुनै पनि पूर्वाधार नपुगेकाले स्थानीयको दैनिकी निकै कष्टप्रद छ।
विकासको नमुना भनेको यो ठाउँमा तुलसीपुरको डाँडा खुटी हुँदै सल्यान जोड्न नयाँ ट्रयाक खोलिएकोबाहेक अरू केही छैन।
त्यो बाटो साँघुरो भएकाले ठूला सवारी चलाउन सम्भव छैन। जीप मात्र त्यसैले भाडा पनि अत्येन्तै महंगो छ।
पानीको लागि दैनिक ५/६ घन्टा संघर्ष
पानीकै लागि यहाँ साँझ बिहान महिलाले ठूलो सास्ती खेप्नु परेको ३१ वर्षीया हरिकला घर्तीले गुनासो गरिन्।
‘पानीको दुःखकै कारण यहाँका केही महिलाहरू आफू महिला भएर जन्मिनुका साथै यहाँ बिहे गरेर आएकोमा पछुतो मान्ने गरेका छन्,’ घर्तिले सेतोपाटीसँग भनिन्।
पानी ल्याउन साँझ बिहान डोको बोकेर बल्लेबाट साढे २ घन्टाको बाटो घर्ती गाउँ पुग्नैपर्ने बाध्यता यहाँका महिलालाई छ। पानीसहितको भारी बोकेर आउन झनै बढी समय लाग्छ।
बिजुलीका पोल गाडेको ५ वर्षभन्दा बढी भइसके पनि यहाँका पोलमा तार अझैं विस्तार गरिएको छैन।
यहाँका महिलाहरू सुत्केरी गराउँदासमेत तुलसीपुर झर्नेपर्ने बाध्यता छ।
‘यो बाटोमा जीप दुई वटा मात्रै चल्छन्, बजार जाँदा पनि महिला बालबालिका सिट नपाएर छतमै बसेर जानुपर्छ,’ घर्तीले भनिन्, ‘यो अप्ठेरो बाटोमा छतमा बसेर यात्रा गर्दा दुर्घटनाको जोखिम धेरै छ।’
नजिकमा प्रहरी चौकी नहुँदा गाउँ घरमा मदिरा खानेले उप्रदो मच्चाउने गरेको घर्तीले बताइन्। ‘प्रहरी खोज्न तुलसीपुर नै जानुपर्छ,’ घर्तीले भनिन्, ‘कुनै घटना वा झैंझगडा हुँदा प्रहरीलाई खबर गरे पनि अर्को दिन मात्रै आइपुग्छ।’
उनले सुरक्षाको उपस्थिति नहुँदा त्यहाँका महिला, बालबालिका तथा जेष्ट नागरिकमाथि अत्याचार हुँदै आएको बताइन्।
तुलसीपुरको उज्यालो हेरेर आफूहरू अन्धकारमा बस्नुपरेको गुनासो स्थानीय ५० वर्षीया दिलमाया वलीले गरिन्। ‘हामीहरू रातमा देखिने तुलसीपुर बजारको उज्यालो हेर्दै अन्धकारमा बसिरहेका छौ,’ उनले भनिन्।
यहाँ खर्च गर्न सक्नेले सोलार जोडेका छन् भने नसक्नेले अझै पनि मट्टीतेलबाट टुकी बाल्ने गर्छन्।
पहाडी क्षेत्र कल्ले–बल्लेमा चिसो हुने हुँदा सोलार पनि त्यति प्रभावकारी छैन। ब्याट्री एकाध वर्षमै काम नलाग्ने हुँदा पटक/पटक किन्न सम्भव हुँदैन।
‘घाम लागेको दिनमा सोलारले काम गर्ने भए पनि घाम नलाग्दा मट्टीतेलको टुकी बाल्नुको विकल्प छैन। त्यसमा पनि वर्षाको समयमा सोलार उपयोगविहिन हुन्छ,’ स्थानीयले गुनासो गरे।
स्थानीयका अनुसार ६/७ बर्ष पहिलेसम्म तुलसीपुर नगरपालिकाले यस क्षेत्रका स्थानीयलाई सोलारमा केही सहुलियत दिने गरेको थियो। तर, आज आएर त्यो पनि बन्द भएको छ।
‘हामी त रातिमा यो पहाडबाट तुलसीपुर बजारको झिलिमिली हेरेर अन्न मन्नमा बाँच्दै आएका छौं,’–घाँस काट्न जाँदै गरेकी वलीले सेतोपाटीसँग भनिन्, ‘यो क्षेत्रलाई तपाईँ नाम मात्रैको उपमहानगरपलिका लेख्नु भयो भने राम्रो होला।’
उनले हालसम्म उपमहानगरपालिकाबासी भए पनि विजुली बत्ति कस्तो हुन्छ र त्यो कसरी बाल्छन् भन्ने कुरा थाहाँ नपाएको बताइन्।
‘तुलसीपुर बजारको जस्तै यो पहाडमा पनि झिलिमिली बिजुली बत्ति बलेको हेर्ने ठूलो सपना मन भित्रै कैद छ,’ वलीले अगाडि भनिन्, ‘आफ्नै हातले विजुली बत्ति बाल्ने र घरमै टिभी ल्याएर हेर्ने रहर खै कहिले पुरा होला र।’
राम्रोसँग रेडियोसमेत नसुनिने यो क्षेत्रका स्थानीयले बाहिरी देश विदेशका खबर पनि सुन्न र हेर्न पाएका छैनन्। ‘हामी त कुवाको भ्यागुतो जस्तै अन्धकार जीवन बाँचिरहेका छौं, दैनिक कहाँ के हुन्छ त्यो हेर्न देख्न र सुन्न पाउँदैनौं,’ उनले भनिन्।
फोन गर्न डाँडामा पुग्नुपर्ने बाध्यता
स्थानीय ४० वर्षीया धनकुमारी घर्तीले आफ्नो थापा गाउँमा बत्ती नआएको हुँदा हालसम्म मोवाईल किन्ने चाहाना पुरा हुन नसकेको धारणा राखिन्।
गाउँमा मोवाईलको टावरले काम नगर्ने र चार्ज गर्नलाई घरमा सोलारसमेत जडान नगरेको हुँदा मोवाईल किन्ने रहर पुरा हुन नसकेको बताइन्। आफ्नो गाउँमा फोनको नेटवर्क नटिप्ने हुँदा फोन भएकासमेत एक डेढ घन्टा पैदल हिँडेर माथि डाँडोमा आएर फोन गर्ने गरेको घर्तीले जानकारी दिइन्।
‘हेर्नुहोस्, ऊ त्यो पहाडको मुनी मेरो घर पर्छ। त्यहाँ जान दुई घन्टा बढी हिड्नुपर्छ,’ घर्तीले भनिन्, ‘फोन भए पनि त्यहाँ फोनको कुनै काम छैन।’
घर्तीले आफ्नो गाउँ घरसम्म जानलाई बाटोसमेत नभएको हुँदा मानिस मर्दा घाटसम्म बोकेर लैजान समस्या हुने गरेको गुनासो गरिन्।
यो ठाउँमा सोलार राखेकाले सानो तिनो मोवाईल घरमै चार्ज गर्ने गरे पनि ठूलो र एड्भान्स मोवाईल चार्ज गर्न मिल्दैन। ‘अलि एडभान्स मोवाईल भएकाहरू एक डेढ सय रूपैंया भाँडा तिरेर मोवाईल चार्ज गर्न कै लागि तुलसीपुर बजार पुग्ने गर्छन्,’ एक स्थानीयले भने।
अरू ठाउँमा जस्तै चुनावको मुखमा नेताहरू आएर थुप्रै आश्वासन बाँड्दै आए पनि अहिलेसम्म एउटा पनि पुरा भएको छैन।
नेताहरुले घर घरमै विजुली बत्ती, खानेपानी र बाटो पुर्याईदिने बाचा गर्दै भोट मागे पनि चुनाव जितेपछि फर्केर नआउने गरेको स्थानीयले गुनासो गरे।
‘लिफ्टमार्फत पानी डाँडोमा तानेर घर घरमा पानी ल्याईदिन्छौं भन्दै भोट मागे, तर, अब त कसैले नाक मुख देखाउँदैनन्,’ घर्तीले भनिन्, ‘चुनावमा हात जोड्दै आउने नेताहरुले घरमा रहेको खरका छानो हटाएर जस्तापाता लगाइदिनेसम्म आश्वासन दिएका थिए तर आज ती नेताको नाकमुख देखेका छैनौ।’
अब पनि विकास नदिए उपमहानगरबाट अलग हुने चेतावनी
अम्बास निवासी ३६ वर्षीय केदार गुरूङले कुनै सुविधा नै नभएको ठाउँलाई उपमहानगरपालिका बनाउने काम भएको भन्दै आक्रोश पोखे।
निर्वाचनका क्रममा नेताहरूले विभिन्न आश्वासन बाँढ्ने, तर जितेपछि फर्केर नहेर्ने प्रवृत्तिले आफ्नो ठाउँको विकास नभएको उनको बुझाई छ।
‘तुलसीपुर नगरपालिका हुँदा पनि यो क्षेत्र सधै उपेक्षामा पर्यो र अहिले उपमहानगरपालिका बन्दा पनि यहाँको विकासमा कतैबाट चासो व्यक्त नहुनु विडम्वना हो,’ गुरूङले सेतोपाटीसँग भने, ‘स्थानीयलाई उपमहानगरपालिका बासीको विल्ला भिराउने मात्र काम भयो अरू केही भएन।’
यहीको पानीको मुहानले तुलसीपुर बजारको प्यास मेटाउँदै आए पनि कल्ले, बल्ले, नाउलालगायतका क्षेत्रमा पानीको चरम संकट हुनु दुर्भाग्य भएको गुरूङले तर्क गरे।
प्राकृतिक स्रोत साधनले भरिपूर्ण कल्ले, बल्ले, नाउला, प्रातपकोटलगाएका गाउँले बर्षौंदेखि विकासको प्रतिक्षा गरिरहेको गुरूङले बताए। ‘आसै आसमा सास जाने जस्तो भइसक्यो,’ गुरूङले भने, ‘हामी कतिञ्जेल बिरवलको किस्सा जस्तै रातिमा तुलसीपुरको उज्यालो हेर्दै बाँच्ने?’
यो स्थिति कायमै रहे स्थानीय आन्दोलन गर्न बाध्य हुने वा उपमहानगरपालिकाबाट छुट्टीन माग गर्ने उनले चेतावनी दिए।
‘हामीले उपमहानगरपालिका बनेपछि जग्गाको कर धेरै बढी तिर्नुपरेको छ। यहाँ कुनै पनि विकास र सेवा सुविधा नदिने हो भने हामीले त्यो कर किन तिर्ने?,’ गुरूङले प्रश्न गरे।
भ्यूटावरको सट्टा विद्यालय र अस्पताल आवश्यक
तुलसीपुर ३ नाउला निवासी ३१ वर्षीय पूर्ण परियार र सुशील गुरूङ नेताहरूले उल्टो काम गर्न थालेको बताउँछन्।
थर्कोटको डाँडोमा भ्यूटार निर्माण गर्न २० लाख छुट्याएको प्रसंग उल्लेख गरेका उनीहरूले त्यसको विरोध गर्दै भ्यूटारको सट्टा विद्यालय र अस्पताल बनाउन सुझाए।
‘हामीलाई भ्यूटार होइन, राम्रो शिक्षा, स्वास्थ्य, बाटो, खानेपानी चाहिएको हो,’ परियारले भने, ‘यी हेर्नुहोस् यहाँका सबै पहाड भ्यूटार जस्ता अग्ला छँदै छन् नि, किन चाहियो यहाँ भ्यूटावर?’
उनले स- साना बालबालिका घन्टौं हिँडेर विद्यालय जानुपर्ने बाध्यताको अन्त्य गर्न उक्त रकमले यहाँ स्तरीय विद्यालय बनाउनु पर्ने तर्क गरे।
‘यहाँ हामीलाई भ्यूटार कुनै काम छैन, बरू राम्रो विद्यालय भयो भने हाम्रा नानीहरूले सहजै पढ्न पाउनेछन् र यहाँको चेतानस्तर पनि माथि उठ्ने छ,’ गुरुङले भने ।
विद्यालय पुग्न ३ घन्टा हिड्नुपर्ने बाध्यता
आधारभूत विद्यालय प्रतापकोटमा कक्षा ५ मा अध्यनरत १२ वर्षीय मोहन केसीले आफू विद्यालय पढ्न आउनकै लागि विहान ७ बजे घरबाट हिँड्नुपर्ने बाध्यता रहेको सेतोपाटीलाई बताए।
किममैरास्थित घरबाट सोही वडाकै नाउलास्थित विद्यालय पुग्न दैनिक आउँदा जाँदा ६ घन्टा समय लाग्ने गरेको केसीले जानकारी दिए।
बिहान ७ बजे घरमा खाना खाएर पैदल हिँडेपछि बिहान १० बजे मुश्किलले विद्यालय पुग्न सकिने र बेलुका ४ बजे छुट्टी भएपछि घर पुग्दा ७ बजे पछि मात्रै पुगिने गरेको केसीले गुनासो गरे।
उनले आफूभन्दा साना विद्यार्थीसमेत यसैगरी हिँडेरै आउने गरेको जानकारी दिए।
घरमा विजुली बत्ती नुहँदा राति गृहकार्य गर्नसमेत नमिल्ने र टुकी बालेर पढ्न पर्याप्त पैसा नहुने भन्दै अभिभावकले गाली गर्ने गरेको केसीको गुनासो छ।
स्वास्थ्य केन्द्रको अवस्था नाजुक
प्रतापकोट अम्वासपुरमा एएटा नगर स्वास्थ्य केन्द्र छ । तर, त्यहाँ विजुली बत्ति नहुँदा सेवा प्रभावकारी बन्न सकेको छैन। स्वास्थ्य केन्द्रका प्रमुख वसन्त वलीका अनुसार विजुली बत्ति नहुँदा भएका स्वास्थ्य उपकरण थन्काउनु परेको गुनासो गरे। यहाँ खोप लगाउने समयमा पनि तुलसीपुर बजारबाटै खोप ल्याउनु पर्ने अप्ठेरो अवस्था छ।
‘यहाँ विजुलीको उपलब्धता भइदिएको भए हामी यही खोपलाई फ्रिजमा राख्न सक्थ्यौ, थन्काएर राखेको उपकरण प्रयोगमा आउँथ्यो। त्यसपछि बल्ल सेवा प्रभावकारी बन्न सक्थ्यो,’ प्रमुख वलीले भने।
स्वास्थ्य केन्द्रको आँगनसम्म विरामी, अशक्त र अपाङगता भएका व्यक्ति सहजै पैदल हिँडेर जानसक्ने अवस्था नरहेको हुँदा त्यो सम्माउन तुलसीपुर उपमहानगरपालिकाबाट डोजर माग्दा पनि नपाएको वलीले गुनासो पोखे।
वडा अध्यक्ष र मेयरको घरमा मात्रै सिंहदरबार
कुनै भौतिक पूर्वाधार निर्माण नगरी उपमहानगरपालिका मात्रै बनाउनु गलत भएको ५१ वर्षीय सूर्य घर्ती गुनासो गरे।
उनले संघीयताले सिंहदरबार गाउँ घरमै आउने भन्ने कुराको कुनै अनुभूति गर्न नपाएको बताए। उनले वडा अध्यक्ष र मेयरको घरमा मात्रै सिंहदरबार आएको तर जनताको घरमा त्यो नआएको धारणा राखे।
‘हामीलाई त यहाँ सिंह आएर हिँड्न डुल्न र खान पनि मुश्किल छ,’ व्यङ्ग्य गर्दै घर्तीले भने, ‘वर्षा लाग्यो कि मोटर गाडी बन्द हुन्छन् र हामीले तुलसीपुर बजारबाट पिठ्यू मै भारी बोकेर जीवन निर्वाह गर्नुपर्छ,’ उनले भने।
त्यस्तै घर्तीले पहिले नजिकै रहेको वडा कार्यालय दमार गाउँमा सारेपछि स्थानीयले अनावश्यक सास्ती खेप्नु परेको जानकारी दिए। ‘संघीयता के सोझा साझा जनतलाई सास्ती दिनलाई हो र,’ प्रश्न गर्दै घर्तीले भने, ‘ हामीसँग वडा अध्यक्ष र मेयरका जस्ता साधन छन् र? वडा कार्यालय जान तीन घन्टा हिड्नु पर्ने संघीयता अचाक्ली भयो।’
घर्तीले डाँडा काँडालाई उपमहानगरपालिकामा पार्नुभन्दा गाउँपालिकामा हालेको भए यो भन्दा विकास हुन्थ्यो कि? भन्ने सम्भावना औंल्याए। ‘कर भने हामीले बजारको बराबर तिर्नुपर्ने, तर सुविधा भने केही नपाउने,’ घर्तीले थपे ‘डाँडा काँडामा बस्नेने बजारको जतिनै किन शुल्क तिर्ने?’
विजुली बत्ति पोल उपभोक्ता समितिका अध्यक्षसमेत रहेका उनले पोल गाडेको वर्षौं वितिसक्दासमेत विद्युत नआएकोले निराश बनेको बताए ।
‘यो विषयमा धेरै पटक वडा अध्यक्षलाई भेट्यौं उहाँले जहिले पनि हुन्छ सर मात्रै भन्नु हुन्छ,’ घर्तीले भने, ‘ वडा अध्यक्षको नाम नै हुन्छ सर रहेछ कि क्या हो।’
‘पहिले नगरपालिका हुँदा पनि केही सुविधा भएन र अहिले उपमहानगरपालिका बनाउँदा पनि केही सुविधा हुँदैन भने हामी यसमा छौं भन्नु भन्दा छुट्टै बस्नु ठिक हो,’ घर्तीले भने।
राज्यले ठगेको र भाग्य पाएको ठाउँ
तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष वीरबहादुर विक (विजय) आफ्नो क्षेत्रलाई नाम मात्रैको उपमहानगरपालिका बनाइएको स्वीकार गरे।
‘बजारका मानिसहरु त्यहाँ पनि मान्छे छन् र मान्छे बस्छन् भन्ने सोच राख्छन्,’ विकले अगाडि भने, ‘मेरो वडा राज्यले ठगेको र भाग्यले पाएको एउटा सुन्दर ठाउँ हो।’
उनले आफू निर्वाचित हुनुभन्दा पहिले आफ्नो वडामा ८ महिना मात्रै जीप चल्ने र असार पछिका चार महिना नचल्ने अवस्था रहे पनि अहिले आफूले मेहनत गरेर नयाँ ट्रयाक खोलेपछि सँधै गाडी चल्ने गरेको दाबी गरे।
यता स्थानीयले भने वडा अध्यक्ष झुट बोलेको दाबी गर्छन्। असार लागेपछि बाटो बन्द हुने हुँदा बाँच्नको लागि कडा संघर्ष गर्नु परेको स्थानीयको जिकिर छ। तर वडा अध्यक्ष विकले भने आफू आउनु भन्दा पहिला स्थानीयले पिठ्यूँमा खाद्यान्न लगाएतका आवश्यक सामाग्री तुलसीपुर बजारदेखि बोकेर १४/१५ किलो मिटर टाढाको कल्ले बल्ले पुग्नु पर्ने अवस्था अव सकिएको बताउँछन्।
तुलसीपुर बजारदेखि जम्मा १४/१५ किलोमिटरको दुरीमा पर्ने बल्लेसम्मको गाडी भाडा किन १ सय ५० रुपैंया कायम गरिएको? भन्ने प्रश्नमा वडाअध्यक्ष विकले सिमित जीपहरु मात्रै चल्ने हुँदा त्यो नदिँदा गाडी नै बन्द हुने अवस्था रहेको तर्क गरे।
‘सत्य हो गाडी धनीले मनपर्दी गरेका छन्, तर त्यो नभए त्यहाँ गाडी नै जाँदैन। त्यो हाम्रो बाध्यता हो,’ विकले भने।
अप्ठेरो भूगोल भएकाले एउटा घरदेखि अर्कौ घरसम्म बाटो पुर्याउन मात्रै लाखौं रकम आवश्यक पर्ने उनले बताए। ‘मैले त त्यहाँको बस्ती नै अन्यत्र सारौं भन्ने प्रस्ताव पनि राख्दै आएको छु,’ वडा अध्यक्ष विकले भने, ‘तर, त्यहाँका स्थानीयले आफ्नो ठाउँ छोडेर अन्त जानै मान्दैनन्।’
चिसोका कारण सोलार सफल नभएकाले अबको नयाँ विकल्पको खोजी भइरहेको उनको तर्क थियो।
तुलसीपुरका मेयर घनश्याम पाण्डेले अबको तीन वर्ष भित्रै त्यस क्षेत्रमा विद्युत पुर्याउने लक्ष्य रहेको बताए।
उनले विजुली बत्ति लैजान सम्भव नभएको स्थानमा सौर्य ऊर्जामा अनुदान दिने जानकारी दिए।