एक जना व्यक्तिले हराएको डेढ लाख बढी रकम प्रहरीले खोजी गरेर फेला पारेपछि सम्बन्धित व्यक्तिलाई दिएको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ दमारगाउँ निवासी ४१ वर्षीय अमरसिंह केसीले सोमबार बेलुका सल्यानबाट घर फर्किंदै गर्दा झोलासहित डेढ लाख बढी रुपैयाँ हराएका थिए।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीका अनुसार रा ४ प ८१११ नम्बरको मोटरसाइलकलमा सल्यानदेखि आउँदै गर्दा १ लाख ६४ हजार १ सय ९५ रुपैयाँसहितको झोला बाटैमा खसेको थियो। त्यो झोला केसीको पछाडि मोटरसाइकलमा बसेका भतिजीको साथमा थियो। अत्यधिक चिसो भएको कारण त्यो झोला कहाँ नेर खस्यो भन्ने कुरा उनीहरूले कुनै भेउ पाउन सकेनन्। खोज्दा फेला नपरेपछि तुरुन्तै उनीहरूले ईलाका प्रहरी कार्यालयका प्रमुख शाहीलाई फोन गरी विस्तृत विवरण सुनाए।
यो सोमबार बेलुका सवा ८ बजेतिरको घटना हो।
लगत्तै शाहीले एउटा टोली केसीको हराएको रकम खोजी गर्न खटाए। त्यसपछि तुलसीपुर–सल्यान सडक खण्डको गोटीखोला भन्ने स्थानमा अस्थायी चेक पोष्ट राखेर आउने जाने सबै सवारी चेक जाँच थालियो। त्यसरी चेकजाँच थालेको केही समयपछि नै प्रहरीलाई सफलता मिल्यो।
सल्यानबाट आउँदै गरेको रा १ च ३८१ नम्बरको पिकअपमा खानतलासी गर्दा १ लाख ६४ हजार १ सय ९५ नगदसहित झोला फेला पर्यो। गाडी चालकले आफू बस्ने सिटको पछाडि रकम लुकाएर राखेको प्रहरीले भेट्यो।
प्रहरीले फेला पारेको नगद रकम मंगलबार ईप्रका तुलसीपुरका प्रमुख एवं डिएसपी शाहीले पीडित अमरसिंह केसीलाई दिएका छन्।
हराएको पैसा पाउँदा जस्ताको तस्तै पाउँदा आफूलाई खुसी लागेको उनले बताए।