दाङमा एक जना बस मालिकले आफ्नो गाडीमा यात्रुले छोडेको झोलामा फेला परेको २ तोला बढीको सुनको गरगहना प्रहरीलाई बुझाएका छन्।
ना ७ ख ९४२१ नम्बरको बसमा मालिक तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ पहिलपार निवासी ३९ वर्षीय सुन्दर विकले आफ्नो गाडीमा यात्रुले छुटाएको झोलामा फेला परेको सुनका गरगहना र लत्ताकपडा प्रहरीलाई बुझाएका हुन्।
मंसिर ११ गते दिउँसो १ बजेतिर उनको गाडीमा चढेर तुलसीपुरबाट घोराही गएकी एक जना महिलाले आफ्नो झोलाको सट्टा अर्कैको झोला लगेपछि त्यो सुनसहितको झोला बसमै छुटेको विकले बताए।
‘कोही लिन आउँछ कि भनेर दुई दिनसम्म झोला हामीले बसमै राख्यौं, तर कोही आएन, त्यसपछि राप्ती समितिका कर्मचारीको रोहवरमा तुलसीपुरमा झोला खोलेर हेरेका हौं,’ विकले सेतोपाटीलाई फोनमा भने।
झोलाभित्र झन्डै २ तोला जति सुनका गरगहना फेला परेपछि उक्त झोलालाई मंसिर १३ गते ईलाका प्रहरी कार्यालय नारायणपुरको जिम्मा लगाएको विकले बताए।
‘एउटै खालका दुइटा झोला भएको हुँदा ती महिलाले झुक्किएर अर्को झोला लगेर गएकी रहेछिन,’ विकले भने, ‘त्यस्तै अर्को झोलामा आलु,प्याज र बच्चाको थियो भन्ने कुरा झोला हराएका व्यक्तिले हामीलाई भनेका थिए।’
तुलसीपुरबाट बस चढेकी ती महिला घोराही गएर ओर्लिएको भए पनि फेरि आफ्नो हराएको गरगहना र सामान लिन नआएको हुँदा प्रहरीलाई बुझाएको विकले बताए।
आफूलाई पूर्व जनमुक्ति सेना बताएका विकले कसैको धनसम्पत्ति सित्तैमा हजम गर्नु गलत भएको तर्क गरे।
‘हराउने महिलालाई कति तनाव भएको होला,’ विकले भने, ‘त्यो सामान जस्ताको त्यस्तै पाउँदा उनी कति खुसी होलिन्।’
उनले आफूले धेरै वर्ष कुवेतमा गएर दुःख पसिना बगाएर कमाएको केही पैसाले हालसालै बस किनेको हुँदा कसैले पनि अरूको पसिनामाथि खेलवाड गर्न नहुने बताए।
करिब एक महिना पुग्नै लाग्दा पनि सुन लिन कोही आएन
ईलाका प्रहरी कार्यालय नारायणपुरले भने एक महिना पुग्नै लाग्दा समेत फेला परेको आफ्नो सुन र झोला लिन कोही नआएको जानकारी दिएको छ।
ईप्रका नारायणपुरका प्रमुख एवं प्रहरी नायव निरीक्षक भिमबहादुर सुनारले महिना दिन पुग्न लाग्दा समेत सुनसहितको झोला लिन कोही नआएको बताए।
सुनको वाला, औंठी र तिलहरी समेत गरी पुगनपुग झण्डै डेढदेखि दुई तोलासम्मको गरगहनासहितको झोला गाडी धनीले दिएको सुनारले जानकरी दिए।
तर, यतिलामो समय बितिसक्दासम्म पनि प्रहरीले यो कुरा सार्वजनिक भने गरेको थिएन। लामो समयसम्म पनि प्रहरीले आफूले दिएको सुन र झोला बारेको खबर कतै प्रकाशित नभएपछि सम्बन्धित गाडी धनीले नै यो सार्वजनिक गर्न सेतोपाटीलाई आग्रह गरेका हुन्।