तुलसीपुर उपमहानगरपालिकाले आगामी शैक्षिक सत्रबाट प्राविधिक कक्षा सञ्चालनका लागि अनुमति पाएको छ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटीको परिषद् बैठकले सो निर्णय गरेको मन्त्रीका स्वकीय सचिव जीवन गौतमले जानकारी दिए।
तुलसीपुर उपमहानगरपालिकालाई बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि पूर्वाधार निर्माण गर्न बैठकले अनुमति दिएको हो।
बैठकले आगामी शैक्षिक सत्रबाट सञ्चालन हुने गरी वन विज्ञानमा डिप्लोमा तह लगायत अन्य विषयको पूर्वाधार निर्माणका लागि काम अगाडि बढाउन अनुमति दिने निर्णय गरेको पनि गौतमले जानकारी दिए।
तुलसीपुर उपमहानगरपालिकाले प्राविधिक शिक्षा सञ्चालनका लागि तुलसीपुर टेक्निकल कलेज स्थापनालाई जोड दिएको थियो। उपमहानगरपालिकाले कलेज सञ्चालनका लागि वडा नम्बर १२ को हरिपौरीमा जग्गा समेत भाडामा लिइसकेको छ।