दाङमा शुक्रवार भएको बस दुर्घटनामा मृत्यु भएका सबै २३ जनाको सनाखत भएको छ । उक्त दुर्घटनामा परि दाङका ६ जना, जुम्लाका ११ जना, जाजरकोट, बाजुरा, बझाङ, कञ्चनपुर, डोल्पा र रूकुम पूर्वका १-१ जनाको मृत्यु भएको थियो।
जुम्लाका ८ वटा शव नेपाली सेनाको हेलिकोप्टर मार्फत शनिबार बेलुका तुलसीपुरबाट लगेर गएको जिल्ला प्रहरी प्रमुख एवम् एसपी बेलबहादुर पाण्डेले सेतोपाटीलाई बताए।
सात वटा शव तुलसीपुरबाट र एउटा शव बाँकेबाट लगेर हेलिकोप्टर जुम्ला गएको उनले जानकारी दिए।
एउटा शव आफन्तले दाङमै सनाखत गर्ने भनि लगेको र अर्को एउटा शव कसैले बुझ्न नमानेको हुँदा पठाउन नसकिएको पाण्डेले जानकारी दिए ।
शुक्रवार दिउँसो घोराही उपमहानगरपालिका वडा नम्बर १७ गैरागाउँस्थित शहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका वन वातावरणका विद्यार्थी सल्यानबाट शैक्षिक अवलोकन गरि दाङ तर्फ फर्कदै गरेको बा ४ ख ९७६६ नम्बरको नमस्ते राप्ती यातायात प्रालिको रिर्जभ बस दुर्घटना हुँदा चालक, सहचालक र विद्यार्थी तथा शिक्षक गरि २३ जनाको मृत्यु भएको थियो।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ राम्री भन्ने स्थानको भीरबाट बस झन्डै ७ सय मिटर तल खसेको थियो।
दुर्घटनामा परि १९ पुरूष र ४ महिलाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीका अनुसार उक्त दुर्घटनामा परि ज्यान गुमाउनेहरू
- दाङ घोराही उपमहानगरपालिका वडा नम्बर ३ निवासी २६ बर्षीय मदन खत्री (बस चालक)
- तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का २२ बर्षीय गणेश विक (सह-चालक)
- घोराही उपमहानगरपालिका वडा नम्बर १७ का २८ बर्षीय प्रदिप घिमिरे (शिक्षक)
- रूकुम भुमे गाउँपालिका ६ का २८ बर्षीय नरेश वली (शिक्षक)
- घोराही उपमहानगरपालिका १४ का १९ बर्षीय विजय घर्ती(विद्यार्थी)
- बबई गाउँपालिका ५ का २१ बर्षीया कविता खत्री(विद्यार्थी)
- दंगिशरण गाउँपालिका वडा नम्बर १ का २० बर्षीय सञ्जित रत्गैयाँ (विद्यार्थी)
- जुम्ला, चन्दननाथ नगरपालिका वडा नं. ६ निवासी १६ बर्षीया कुसुम रावल
- जुम्ला चन्दननाथ नगरपालिका वडा नं. ३ निवासी १७ वर्षिय हिम्मत बोहरा
- जुम्ला कनिकासुन्दर गाउँपालिका वडा नं. ५ घर भएका २० बर्षीय विरेन्द्र कडारा
- जुम्ला हिमा गाउँपालिका वडा नं. ५ घर भएका १७ बर्षीया शैलजा शाही
- जुम्ला चन्दनथान नगरपालिका वडा नं. १० का १८ बर्षीय रुपेश शाही
- जुम्ला चन्दननाथ १४ का १७ बर्षीय रितेन्द्र शाही
- जुम्ला चन्दननाथ ५ का देविप्रसाद उपाध्याय
- जुम्ला तिला गाउँपालिका १ का जंगबहादुर विक
- जुम्ला चन्दननाथ ३ का १८ बर्षीय अर्जुन शाही
- जुम्ला चन्दननाथ १० की विपना खत्री
- जुल्ला तिला गाउँपालिका ३ का रमेश उपाध्याय
- डोल्पा जग्दुला ७ निवासी १६ बर्षीय गजेन्द्र ऐरी
- जाजरकोट भेरीगंगा नगरपालिका ४ घर भएका १७ बर्षीय आतिस नेपाली
- कञ्चनपुर कृष्णपुर नगरपालिका ५ घर भएका १७ बर्षीय खेमराज भट्ट
- बझाङ जयपृथ्वी नगरपालिकाका १७ बर्षीय महेश जोशी
- बाजुरा बुढीगंगा १० का लोकेन्द्र रावल
१२ घाइतेको काठमान्डौंमा उपचार हुँदै
दुर्घटनाका घाइते भएका १४ जना मध्ये एक जनाको मात्रै बाँकेमा उपचार भइरहेको छ। अर्का एक जना डिस्चार्ज भइसकेका छन्। दुर्घटनाका थप १२ जना घाईतेलाई थप उपचारको लागि बाँकेबाट हेलिकोप्टर मार्फत काठमाडौं लगिएको छ।
दाङका प्रहरी प्रमुख एवम् एसपी बेलबहादुर पाण्डेले काठमाडौं पुर्याएका मध्य एक जनाको अवस्था चिन्ताजनक रहेको जानकारी दिए ।