नर्भिक अस्पतालले बनाएका संरचना तत्कालै भत्काउन नसक्ने बताएको छ।
मंगलबार पत्रकार सम्मेलन गर्दै नर्भिक अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले अस्पतालले बनाएको संरचना तत्काललै भत्काउन सम्भव नरहेको बताए।
सिंहले २०६५ सालमा नेपाल सरकारसँग सम्झौता गरी जग्गा लिजमा लिएको र उक्त सम्झौतामा जग्गाको स्वरूप बिगार्न नपाइने मात्र उल्लेख भएको बताए।
‘बाटो नभएको जग्गा वार्षिक ३३ हजार रुपैयाँ भाडा दिने गरी सम्झौता भएको थियो,' उनले भने, 'प्रत्येक वर्षमा १० प्रतिशत भाडा बढ्ने सम्झौता भएको थियो।’
सम्झौताअनुरूप अहिले लिजमा लिएको जग्गाको भाडा वार्षिक ८४ हजार पुगेको सिंहले बताए। सम्झौता बमोजिम भाडा र नियमित कर अस्पतालले तिर्दै आएको र जग्गामा लिएको १२ वर्ष भइसकेको र अझै आठ वर्ष बाँकी रहेको सिंहले बताए।
यस्तै सिंहले महानगरले खाली गर्न भनेको उक्त जग्गाबाट अत्यावश्यक वस्तुहरूको सप्लाई भइरहेको बताए।
‘उक्त जग्गा अक्सिजन प्लान्ट, बिजुली, पानीजस्ता अत्यावश्यक वस्तुहरूको सप्लाई भइरहेको छ,’ उनले भने, ‘ती सबै कुरा तुरून्त हटाउँदा अस्पतालको क्रिटिकल केयरमा रहेका बिरामीहरूलाई तलमाथि भए को जिम्मेवार हुने?’
सोमबार मेयर बालेन शाह कुनै अग्रिम जानकारीबिनै अस्पताल पुगेर भत्काउन सूचना दिएको सिंहले बताए।
‘मेयर शाह आएर सूचना टाँसेर गएपछि मैले हिजै उहाँलाई पत्राचार गरेर तत्काल भत्काउने अवस्था नरहेको भनेको थिएँ’, सिंहले भने, ‘तर मेरो पत्रको जवाफ आएको छैन।’
सोमबार काठमाडौंका मेयर बालेन शाह नर्भिक अस्पताल नै पुगेर २४ घन्टाभित्र उक्त जग्गा खाली गर्न सूचना दिएका थिए।